प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौँ, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समिति गठन गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुँदा आइतबार सहमतिमा पुग्न नसकेका दलहरू सोमबारको बैठकमा पनि साउन ३ गते विमानस्थलबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करीकै सन्दर्भमा छलफल भयो ।

सत्ता साझेदार दलहरूले राजस्व अनुसन्धान विभागको अनुसन्धान सकिएको र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सङ्गठित अपराधमा अनुसन्धान गरिरहेकाले यस सम्बन्धमा छानबिन समिति गठन आवश्यक नरहेको अडान राखेका छन् । तर प्रतिपक्षी एमालेले समग्र अध्ययन अनुसन्धानका लागि छानबिन समिति गठनको माग दोहोर्‍याएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन सदस्यीय समितिले सहमतिको मस्यौदा तयार पारेर मङ्गलबार बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताउनुभयो । उहाँका अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने–नगर्ने विषयमा निर्णायक संवाद मङ्गलबार दिउँसो २ बजेसम्म शीर्ष नेताको बैठकबाट मात्रै टुङ्गो लाग्ने छ ।

उहाँले भन्नुभयो, “संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा संसद्मा रहेका राष्ट्रिय पार्टीको छलफल सकारात्मक भएको छ तर टुङ्गिएको छैन । मङ्गलबार २ बजे बैठक बस्ने छ र संसद्को काम कारबाही अघि बढाउने गरी एउटा सहमति बन्ने छ ।”

कांग्रेस नेता रमेश लेखकले बैठकमा सबै सम्भावना र विकल्पमा छलफल भएको बताउनुभयो । उहाँले मङ्गलबारको बैठकले सुन तस्करीका सन्दर्भमा जारी संसद्को गतिरोधको विषयलाई टुङ्गोमा पुर्‍याउने बताउँदै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ता साझेदार दलहरू सुन तस्करीको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार भएको दाबी गर्नुभयो । उहाँका अनुसार मङ्गलबार बिहान ११ बजेसम्ममा समितिले सहमतिको मस्यौदा तयार गरेर अन्तिम रूप दिने निर्णय भएको छ । उहाँले भन्नुभयो, “तर त्यसको सन्दर्भ सर्तहरू के हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । पुनः बैठक बसेर निष्कर्षमा पुग्ने छौँ ।” उहाँले प्रहरीको छानबिनलाई प्रभावित नपार्ने गरी उच्चस्तरीय समिति बन्न सक्ने बताउनुभयो । उहाँले नीतिगत र संरचनागत परिवर्तनका लागि समग्रमा भविष्यमा तस्करी अन्त्य गर्न समिति बनाउने सहमति बन्न सक्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूबिच सहमति भएको र मस्यौदा तयार गर्ने जिम्मेवारी समितिले पाएको बताउँदै मङ्गलबार निर्णायक संवादपछि संसद् सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array