यो सरकारको आयु कांग्रेस व्युँझिएको दिन सकिन्छ : शेरबहादुर तामाङ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०८०, शनिबार
15 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु । अहिलेसम्म सरकारका बारेमा जे÷जति कुरा आएका छन्, यी विषयहरु सरकार ढल्नुपर्ने र सरकारको समिकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन् ।’
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता घिमिरेले सामान्यतया गठबन्धनभित्र समस्याहरु आईरहने सम्झाए । तर, ती समस्याहरु समाधान गर्दै जाने नै अहिलेको आवश्यकत्ता भएको उनको तर्क छ । उनले भने,‘सामान्यतया गठबन्धनको सरकारभित्र समस्या आईरहन्छन् । समस्या समाधान गर्दै जाने हो । अहिले पनि समस्या आएका छन्, देखिएका छन् । समस्याको निराकरण हुँदै अघि बढ्ने हो । तत्कालको लागि सरकारको भविष्यमाथि कुनै खतरा छैन् । तत्काल सरकार परिवर्तन हुँदैन् ।’
उनले ललिता निवास काण्डको बारेमा आफ्नो धारणा राख्दै अख्तियारले ललिता निवास प्रकरणबारे छानबिन गरेर मुद्दा अभियोजन गरिसकेको विषयमा अहिले सरकार किन प्रवेश गर्नुपर्यो ? भन्दै प्रश्न गरे । उनले भने,‘अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा अहिले सरकार किन प्रवेश गर्यो ? मैले बुझेको छैन् । सिआईबीले पूनः छानबिन गरेर त्यही अख्तियारकै रिपोर्टलाई जस्ताको त्यस्तै (लगभग) प्रस्तुत गर्नुपर्ने थियो भने अहिले यसमा किन छानबिन गर्नुपर्दथ्यो र ? केही मान्छेहरुलाई केही दिनसम्म किन थुन्नुपर्यो ?’
उनले ललिता निवास प्रकरणमा छानबिन गरिरहेका कोही पनि प्रहरी अधिकृतहरुलाई सरुवा नगरिएको स्पष्ट पारे । उनले नेपालमा व्यक्तिअनुसार फरक फरक कानून नभएको जिकिर गरे । उनले भने,‘कानून दुई वटा छैन् । सन्दीप लामिछानेलाई हत्कडी लगाउन आवश्यक थिएन । यदि भागेर जाने सम्भावना छैन भने गिरफ्तारी गर्नुहुँदैन् । जघन्य अपराधमा बाहेक थुनेरै अनुसन्धान गर्नुपर्छ भन्ने छैन् । सन्दीप लामिछानेमाथि हत्कडी लगाउने काम गलत भयो ।’
ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईको संलग्नताबारे सोधिएको प्रश्नमा उनले भने–‘नेपाल सरकारले गरेको नीतिगत निर्णयमा कसैले पनि प्रश्न उठाउन पाईँदैन भनेको छ । संविधानमा नै यो कुरा लेखिएको छ । तर, त्यो नीतिगत कुरा भनेको के हो भनेर अस्पष्ट छन् । अहिले केही नेपाल ऐन संशोधन हुँदैछ, त्यसमा मैले पनि संशोधन हालेको छु । नीतिगत निर्णय हो कि होईन भन्ने कुरामा अहिले अन्यौलता छ ।’
उनले निर्वाचन क्षेत्र विकास कोष खारेजी गर्ने अदालतको आदेशप्रति भने रोष प्रकट गरे । घिमिरेले भने–‘अहिले सर्वोच्च अदालतका भर्खरै एउटा आदेश आयो । यो आदेशले नेपालको राजनीतिलाई र नेपालको शक्ति सन्तुलनको सिद्धान्तलाई नै तरंगित बनाएको भन्ने मैले बुझेको छु । मैले यो विषयमा लगातार बोल्दै आएको छु । नेपालको संविधानले शक्ति पृथकीकरण, शक्ति सन्तुलन र शक्तिको समन्वय गरेर अघि बढ्ने सिद्धान्तलाई अंगीकार गरेको छ । एउटाको क्षेत्रमा अर्को प्रवेश गर्दा सम्पूर्ण शक्ति सन्तुलन खल्बलिन्छ ।’
उनले सांसद विकास कोष नभएर अहिले त्यो निर्वाचन क्षेत्र विकास कोष भएर आएको पनि सुनाए । उनले भने,‘निर्वाचन क्षेत्र कोष जथाभावी वितरण गर्ने अवस्था पनि छैन् । योजनाको छनोटमात्रै सांसदले मात्रै गर्ने हो । यो नेपालको लोकतन्त्रको आदर्श, मर्यादा भनेको नै शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्छ । कानून बनाउने सर्वाधिकार संसदलाई छ । बजेट कानूनकै रुपमा आउँछ । बजेट यो बना, त्यो नबना भन्ने अधिकार न्यायपालिकालाई छैन् । क्षेत्राधिकार नाघेर अघि बढ्ने कोशिस गरिए लोकतन्त्रको भविष्य सुरक्षित हुँदैन् । लोकतन्त्रको ठेकापट्टा मैले मात्रै गर्ने हो र गरेको छु भनेर कसैले सोच्नुहुँदैन् ।’
कार्यक्रममा नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको बताएका छन् । उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निश्कर्षमा पुर्याउन नसक्ने बताए ।
उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरुलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरुलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निश्कर्ष रहेको बताए ।
शरणार्थी प्रकरणमा अदालतमा पेश भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने उनको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निश्कर्षमा पुर्याउन जरुरी रहेको उनको भनाई छ ।
त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरु सबै आर्थिक लाभकै कारण संलग्नता नभएपनि न्यायिक प्रश्न उठेपछि न्यायिक कशीमा जाँचिनुपर्ने उनले बताए ।
‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौं, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कशीमा जाँचिनु पर्दछ,’– उनले भने ।
ललिता निवास प्रकरण पनि अधुरै रुपमा सम्पन्न गर्ने परिस्थिति बनेको उनको भनाई छ । उनले सरकारले विभिन्न प्रकरणको छानविनमा जोडिएका प्रहरी अधिकारीलाई विना कारण सरुवा गरेको बताए । उनले सुन तस्करी प्रकरणमा पनि सरकारले अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई रातारात सरुवा गरेर उक्त प्रकरण ढाकछोप गर्न खोजेको बताए ।
‘सुन प्रकरणमा पनि त्यही हो । अध्यनन अनुसन्धानमा रहेका प्रहरी प्रमुखहरुलाई वास्तवमा के यस्तो आईपर्यो र रातारात सरुवा गर्नपर्यो,’– उनले भने ।
नेपालमा प्लेन चढाएर गाडिको पार्सहरु ल्याउन नपर्ने उनको भनाई छ । त्यस्ता प्रकृतिका सामनहरु यो छ महिनाको अवधिमा १५ हजार किलो आएको उनले बताए । सुन प्रकरणमा सरकारले केहीलाई कारबाही गरेको जस्तो गरेर वास्तविक अपराधी उम्काउन खोजेको बताए ।
छ महिनाभित्र प्लेनबाट आएको त्यस्ता प्रकृतिका सामानहरुको छानविन गर्न आवश्यक रहेको उनले बताए । सरकारले सुशासनको स्टन्टबाजी नगर्दा नै राम्रो हुने उनको सुझाव छ ।
अहिले अदालत, न्यायालय र व्यवस्थापिकामाथि समस्या पैदा भएको भन्ने प्रश्न उठेको उनले बताए । न्यायाधीश नियुक्तिमा भाग बन्डामा गर्दा प्रश्न चिन्ह उठेको उनको दाबी छ । न्यायाधीशहरु नियुक्त भएर कुर्सीमा बसेपछि पनि पार्टीको रंग कायम रहेको उनले बताए । उनले दलको रंगको आधारमा नियुक्त भएको न्यायाधीशको निर्णय पनि रंगकै आधारमा हुने गरेकोे बताए ।
संसद् विकास कोषमाथि अदालतले हस्तक्षेप गर्दा सत्ता गठनबन्धनका नेताहरु आक्रोशित भएको बताउँदै उनले न्यायिक निर्णयलाई सबैले स्वीकार गर्न आवश्यक रहेको बताए । संसारमा कहिल्यै पनि भ्रष्टाचार शून्य नहुने बताउँदै नेता तामाङले कर्मचारी र राजनीतिक दलका नेता सबैको सम्पत्ति छानविन भएमा ७०÷८० प्रतिशत भ्रष्टाचार कम हुनसक्ने बताए ।
अहिलेको सरकारको आयु कांग्रेस व्युँझिएको दिनसम्ममात्रै बाँकी रहने उनको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काही व्युँझिएकोजस्तो गर्यो भनेपनि भष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।
‘कांग्रेस अहिले व्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काही व्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने ।
कांग्रेस नव्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको उनले बताए । उनले अहिले कांग्रेस सुतिरहको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको बताए । त्यसैले देशको प्रमुख र पहिलो पार्टी यस्तो ढंगले किकर्तव्यविमुढ बनेर बस्न नहुने उनको भनाई छ ।
मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको उनको भनाई छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताए ।
‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु्, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौं भने करिब–करिब दुई तिहाईको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’– उनले भने ।
नेपालमा अहिले पछिल्लो समय धार्मिक र जातीय द्वन्द्व फैलिने वा फैलाउने खालको गतिविधि सुरु भएको भन्दै उनले दुःख व्यक्त गरे । सबैले सचेततापूर्वक यस्तो स्थिति हुन नदिन मुलकका सबै धार्मिक सम्प्रदायहरु, सबै जातीय समुदायहरु संयम हुन आवश्यक रहेको उनको भनाई छ ।
‘मुलुकको धार्मिक सहिष्णुता र जतीय एकता कायम गर्न सबै संयम भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।
कुनै पनि धर्मले हिंसालाई प्रश्रय नदिएको र धर्मको उत्पत्तिको आधार हिंसा नभएको बताउँदै उनले के काट्न हुने, के काट्न नहुने भन्ने विषयको बहस आवश्यक नरहेको बताए ।
‘जुनसुकै धर्ममा पनि हिंसालाई प्रश्रय दिएको देखिँदैन । हिंसाको आडमा कुनै पनि धर्म जन्मिएको देखिँदैन ।’ उनले भने, ‘धर्मको आडमा हिंसालाई जोडेर के काट्न पाइन्छ, के काट्न पाइँदैन भन्ने बहस गरेर हामी समाजलाई साम्प्रदायिक र धार्मिक द्वन्द्वतर्फ लैजाने परिस्थिति सिर्जना भएको छ ।’
उनले सबैले संयमतापूर्वक नेपालको राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कायम गर्ने कुरामा हामी सचेत हुन जुरुरी रहेको बताए ।
सबै वर्ग, समुदाय र धार्मिक साम्प्रदायहरुलाई उनले उग्रतामा नजान आग्रह गरे । धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वमा फसेको मुलुकले कहिले पनि प्रगति गर्न नसक्ने उनको भनाई छ ।
नेपाललाई धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वतर्फ लैजान उकास्ने कुनै तत्वहरु भए त्यसलाई समयमै चिन्न जरुरी रहेको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य दिलु पन्तले सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरेकी छिन् । उनले पार्टीले सरकारको सुशासनको एजेण्डामा दरिलो साथ दिइरहेको पनि स्पष्ट पारिन् ।
उनले भनिन्–‘अहिले हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठक भर्खरै सम्पन्न भैसकेको छ । भ्रष्टाचारलाई समुल अन्त्य गर्नको निम्ति हामीले सडकदेखि सदनसम्म आवाज बुलन्द बनाउने भनेका छौं । सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कारबाहीमा सघाउने भनेका छौं । सरकारले गरेको छानबिनलाई साथ दिने भनेका छौं । तर, सरकारले छानबिन लुकाउन खोजेमा हामी विरोध गर्दछौं । अहिले सरकारले ठीक ढंगले काम गरेको छ । यसमा हाम्रो पूरा साथ र समर्थन छ।’
नेतृ पन्तले अहिले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको पनि दाबी गरिन् । उनले भनिन्–‘हाम्रो पार्टीभित्र कुनै विवाद छैन् । हामीले समृद्ध नेपाल निर्माणको लागि विद्रोहसहित नेकपा (एकीकृत समाजवादी) बनाएका हौं । हामी समृद्ध नेपालको लागि कटिबद्ध छौं । हाम्रो विद्रोह पुष्टि हुँदैछ । एउटा जीवन्त पार्टीभित्र बहस हुन्छ । छलफल हुन्छ । अनि अहिले उठेका विषयलाई विवाद मान्नुहुँदैन् ।’
उनले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको मितिसमेत घोषणा गरिसकेको अवस्थामा अब आफूहरु एकताबद्ध र गोलबद्ध भएर अघि बढ्ने विश्वास दिलाईन् । उनले थपिन्–‘हामी एकमतका साथ अघि बढेका छौं । हाम्रो पार्टी दर्शन र आन्दोलनमा आधारित अनि लक्ष्यमा आधारित पार्टी हो । त्यसैले प्रगतिशिल बाटोमा अघि बढेको छ ।’
उनले अहिले जनजिविकाको सवाल र अहिलेसम्म प्राप्त उपलब्धिको रक्षाको लागि समाजवादी मोर्चा पनि बनिसकेको स्मरण गराउँदै मोर्चाले सही दिशा समातेर कार्यक्रम बनाएको बताईन् । उनले भनिन्–‘हामी समाजवादी मोर्चामा पनि छौं । जनताका सवालका कुरा उठाएका छौं । सरकारले गरिरहेको सुशासनको पक्षमा दृढ भएर उभिएका छौं । सुन काण्डमा सिआइबीले राम्रो छानबिन गर्नुपर्छ । यो प्रकरणमा सत्य, तथ्य आउनुपर्छ । हाम्रो पार्टीले खबरदारी गरिरहेको छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता केशब झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ । आशा जगाएको छ । जसरी अहिले सरकार कडाईका साथ अघि बढेको छ, गठबन्धन एक ढिक्का भएको छ। सरकार अलिकति पनि दायाँबायाँ हुँदैन् । कसैले शंका गर्ने ठाउँ छैन् । सरकारको आयुमा ग्रह र दशा लागेको स्थिति छैन । सरकार राम्रोसँग अघि बढ्छ ।’
नेता झाले सुन काण्ड र भ्रष्टाचारको सन्दर्भमा आफ्नो दल भ्रष्टाचार गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए । उनले भने,‘हामी गठबन्धनमा पनि छौं । भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिनुहुँदैन् । भ्रष्टाचार किन हुन्छ ? भन्ने कुरा पनि गम्भीर विषय हो । अब भ्रष्टाचार नहुने वातावरण सिर्जना गर्नुपर्छ । सुन काण्डको सन्दर्भमा जसरी अहिले अपराधीलाई समात्ने काम भएको छ । अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कामको समर्थन गरेका छौं ।’
झाले लागुऔषध, मानव बेचबिचखन र हातहतियारको विषय जघन्य अपराध भएको भन्दै त्यसमा हदैसम्मको कारबाही गरिनुपर्ने पनि आवाज उठाए । सो अवसरमा नेता झाले देशको आर्थिक अवस्था दयनीय रहेको चित्रण गरे । उनले भने,‘आर्थिक रूपमा हामी अत्यन्तै खराब अवस्थामा छौं । यो अवस्थामा हामी कसरी पुग्यौं ? यसबारे खोजबिन गर्नुपर्छ । अहिले प्रति नेपाली ७६ हजार ऋण पुगेको छ । अनुदान र ऋण लिने अनि बाँडिचुँडी खाने प्रचलन बन्द गर्नुपर्छ । बरु, नेपाललाई ट्याक्स हेभेन कन्ट्री बनाउनेतर्फ अघि बढ्ने की ? नेपाल अब आर्थिक रुपमा भेनेजुएलाको अवस्थामा नपुग्ला भन्न सकिन्न । नेपालीले बढिभन्दा बढि कमाउनेतर्फ राज्यको ध्यान जानुपर्छ ।’
नेता झाले अहिले धरानमा भैरहेको आन्दोलनको अवस्थाबारे पनि गम्भीर भएर सोच्नुपर्ने बताए । उनले भने,‘नेपाल भनेको विविधतायुक्त देश हो । हामी यहाँ सबैखाले विचार मान्ने समूदाय छौं । सबैको समान अधिकार छ । कुनै प्रकारको द्धेष र द्धन्द्ध फैलिनुहुँदैन् । जातीय र धार्मिक द्धन्द्ध फैलिनुहुँदैन् । जनता जनताबीच फाटो ल्याउनुहुँदैन् । अतिवादलाई बढावा नदिउँ । सबै मिलेर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array