भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्यामा बृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
3 Min Read
Aa

 बागमती,  बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले ललितपुरमा डेंगु सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार इमाडोलकी ३८ वर्षीया महिला र थैवका ७१ वर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको गोरखापत्रलाई जानकारी दिनुभयो । यसअघि डेंगु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ वर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार ३९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

डेंगु  सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।

भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरू नियन्त्रण र रोकथाम गर्न विभिन्न शीर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array