बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिले असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ भाद्र २०८०, मंगलवार
4 Min Read
Aa

काठमाडौं,  बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने भएको छ ।आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोरमैलाका कारण त्यहाँका बासिन्दाहरुमा नकरात्मक असर परेको र सरोकारवाला निकायहरुले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेको भन्दै फोहोरमैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो ।प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरुपको कार्यान्वयन गरिनुपर्ने उनीहरुको माग छ । प्रदुषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिलसाईट अहिलेको निकाश भएको सरोकार समितिले बताएको छ ।

सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरुको अरोप छ । २०६२ सालदेखि आजसम्म काठमाडौं महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरुको अरोप छ । काठमाडौं उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हरहालतमा नदिने सरोकार समितिले जनाएको छ ।

सरोकार समितिले ल्याण्डफिलसाईटमा अटेर गरी प्रवेश गरे वा गराएमा घट्नसक्ने सम्भावित घटनाको जिम्मेवारी नेपाल सरकार, काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिका लिनुपर्ने बताएको छ ।
सरकारले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रलाई विशेष सम्वेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधीकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोरमैला, विषाधीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला प्रतिबन्ध नगरेको उनीहरुको आरोप छ ।बन्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरु फोहोरमैलाको कारण त्यहाँका बासिन्दा कुनै पनि समय विनास हुने अवस्थामा रहेको बताए । अब आफूहरुको जीवन मरणको सवाल रहेको उनको भनाई छ ।
‘हाम्रो कुनै पनि मागहरु छैन । ल्याण्डफिलसाईटमा अब कुनै किसिमको ल्याण्डफिलसाईट विकास गर्नका लागि, फोहोरमैला राख्नका लागि एउटा ईटा पनि हामी राख्न दिँदैनौं । भौतिक पूर्वधार बनाउन दिँदैनौं,’– उनले भने ।
असोज १ गतेदेखि सरकारले जबरजस्ती गरे त्यहाँका १० हजार मान्छे टुंडिखेलमा आएर बस्ने उनको चेतावनी छ ।
‘प्रभावित क्षेत्रका १० हजार मान्छे उठेर टुंडिखेलमा आएर बस्ने हो । धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कतिदिन राख्छ हामी हाम्रा छोरा र नातिहरुका लागि त्यो सामना गर्छौं,’– उनले भने ।
ल्याण्डफिलसाईट पीडित हरि लामाले फोहोर र मानव एकै ठाउँमा रहन नसक्ने बताए । उक्त क्षेत्रमा कि फोहोर रहन पर्ने कि मानवमात्रै रहन पर्ने बताए । आफूहरुलाई काठमाडौं महानगर, प्रदेश सरकार र नेपाल सरकारले बेवास्ता गरेको उनको आरोप छ । असोज १ गतेदेखि उक्त क्षेत्रमा फोहोर सधैंका निमित्त अन्त्य हुने उनको भनाई छ ।
ल्याण्डफिलसाईट पीडित मनोज तामाङले अब त्यहाँका स्थानीयहरुले महानगरसँग आन्दोलन गर्ने ल्याकत राख्नुपर्ने बताए । अब त्यहाँका स्थानीय तड्पेर बस्न नसक्ने उनको भनाई छ ।
ल्याण्डफिलसाईट पीडित दिपेश न्यौपानेले त्यहाँका जनता पीडामा भएर आन्दोलनको घोषणा भएको बताए । सरकारले त्यहाँको जनताको समस्या नबुझेको उनको गुनासो छ । उनले सरकारलाई त्यहाँका जनता मार्ने छुट नभएको बताए ।
सरोकार समितिका उप–संयोजक सुमित्रा ढकाल (घिमिरे) ले फोहोरमैलाको दीर्घकालीन समाधान हुन आवश्यक रहेको बताए । फोहोर र मान्छे सँगै बस्न सक्छन् भने उपत्यकाको फोहोर यही राखिनु पर्ने उनको भनाई छ । होईन भने सरकारले विकल्प खोज्न आवश्यक रहेको उनको भनाई छ ।
ककनी गाउँपालिका वडा नं. २ का कार्यबहाक अध्यक्ष च्यामे तामाङ (सुब्बा) ले सरोकार समितिले घोषणा गरको संघर्षका कार्यक्रममा पूर्ण समर्थन रहेको बताए । आन्दोलनमा हस्तक्षेप भएमा सबै जनता एक भएर प्रतिकार गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array