साईकलयात्री, पैदलयात्री र अपाङ्गता भएका व्यक्तिको सुरक्षित यात्रा गर्ने अधिकार स्थापित गराउन दवाबमूलक नागरिक भेला हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं,  नेपाल साइकल सोसाइटी र इस्पाइनल कर्ड इन्जुरी नेटवोर्कले संयुक्त रुपमा नागरिक भेला आयोजना गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालमा साईकलयात्री, पैदलयात्री र अपाङ्गता भएका व्यक्तिहरुको सुरक्षित यात्रा गर्ने अधिकार स्थापित गराउन दवाब सिर्जना गर्ने उद्देश्यले नागरिक भेलाको आयोजना गरिएको बताए ।
नेपाल साइकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले सबै नागरिकका लागि सडक कसरी सुरक्षित बनाउन सकिन्छ भनेर आफूहरुले चिन्तन तथा मनन् गरेर सरकारलाई दवाब दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले अहिले अपाङ्गता भएका व्यक्तिहरु सडकमा सुरक्षित तवरले हिँडडुँल गर्न नसक्ने अवस्था रहेको बताए ।
मानवमैत्री संरचनाको अभावले कुनै कोही नागरिकको स्वतन्त्र आवागमनमा अवरोध हुनु मानवअधिकारको हनन् भएको बताउँदै उनले मानवमैत्री सडक तथा फुटपाथ आजको आवश्यकत्ता रहेको बताए ।
अध्यक्ष श्रेष्ठले सवारीसाधनबाट निस्किने धुँवाबाट सहरहरु आक्रान्त भएको बताउँदैे सहरभित्रका राजमार्ग (रिंग रोडलगायत) र प्रादेशिक सडक सबै “नेपाल सहरी सडक मापदण्ड २०७६” अन्तर्गत रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
नागरिक भेला साइकल, ह्वीलचियर र पैदलयात्रीको सुरक्षित यात्राका लागि पुर्वाधार बनाउन बजेट र योजनाका लागि सरकारलाई दवाब दिने उनको विश्वास छ ।
अध्यक्ष श्रेष्ठले कार्यक्रम आगामी भदौ १६ गते शनिबार विहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म माईतीघर मण्डलामा आयोजना गरिएको बताए । कार्यक्रममा विभिन्न कला र सडक नाटक प्रस्तुत गरिने उनको भनाई छ ।
कार्यक्रमको अतिथिको रुपमा समाजका योगदान दिएको विशिष्ट व्यक्तिहरु नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतलाई निमन्त्रणा पठाइएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै इस्पाइनल कर्ड इन्जुरी नेटवोर्क नेपालका महासचिव केशव थापाले दुर्घटनाको क्रममा ढाडमा चोट लागेको आफू अपाङ्गता भएको बताउँदै अहिले यात्रुहरु सडकमा सुरक्षित रुपमा हिँड्नसक्ने अवस्था नरहेको बताए । उनले आगामी दिनमा तीनै तहका सरकारले सडक निर्माणका बेलामा यात्रुलाई कसरी सुरक्षित बनाउने भनेर सोच्न आवश्यक रहेको बताए ।
वल्र्ड साइक्लिस्ट क्लब नेपालका अध्यक्ष कपिल शाहीले नागरिक भेला नितान्त वातावरण, दुर्घटना र स्वास्थ्यसँग सम्बन्धित रहेको बताए । सहरी क्षेत्रमा सडक स्टाण्डड बनाएर सडक बनाइनुपर्ने, निर्माणाधीन कलङ्की–चावहिल सडक खण्ड फुटपाथ र ह्वीलचेयर प्रयोगकर्ताहरुलाई समेत सहज हुने गरी साईल लेन समेतको व्यवस्था गरिनु पर्ने उनीहरुको माग छ । सरकारले वातावरणलाई संरक्षण गर्न विद्युतीय सवारीमा सहुलियत दिनुपर्ने अध्यक्ष शाहीको माग छ ।
त्यसैगरी साइकलयात्रीहरु, मचकाजी महर्जन, लक्ष्मी श्रेष्ठले साईल यात्राका फाइदा, यसक्रममा आफूहरुले भोग्नुपरेको दुःख, पीडाका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
उनीहरुले आगामी दिनमा सरकारले साईकल यात्री, अपाङ्गता भएका व्यक्ति र पैदल यात्रीलाई प्राथमिकता दिनेगरी नीति ल्याउन र सोहीअनुसार कार्यान्वयनमा आउन जरुरी रहेको बताएका थिए । उनीहरुले आगमी भदौ १६ गतेको कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

Array