हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०८०, आईतवार
3 Min Read
Aa

खोटाङ,  मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिने गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, रत्नावतीस्थित सोखु खोलामा बर्सातको समयमा आउने भल बाढीले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुहरूले सास्ती खेप्नु परेको हो ।

खोला तर्न नसकेर एकातिर यात्रु छट्पटाई रहन्छन्, अर्कातिर १२ वर्षअघि निर्माण सुरु भए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको पुलले गिज्याइरहन्छ । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलामा पुल निर्माण सुरु भएको १२ वर्ष भयो तर अहिलेसम्म पुल निर्माण सम्पन्न नहुँदा हरेक वर्ष चार जिल्लाका यात्रुले सास्ती खेपिरहनुपरेको छ । पुल निर्माण नहुँदा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला हिँडेका यात्रु हरेक दिनजसो बाटोमै अलपत्र पर्ने गरेका छन् । गाडी सोखु खोला तर्न नसक्दा एक दिनमा सकिने यात्रा दुई दिन लाग्ने गरेको काठमाडौँबाट खोटाङ आएका यात्रु धनकुमार तामाङले बताउनुभयो । केही दिनअघि खोटाङ आउनुभएका तामाङ करिब आठ घण्टा सोलु खोलामा थुनिएको सुनाउनु हुन्छ ।

सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउन सुरु हुन्छ । खोलामा बाढी आएर सवारीसाधन वारपार गर्न नसकेपछि यात्रुको बिजोग हुने गरेको छ । चार जिल्लाका यात्रु अरू समय बिहान यात्रामा निस्केर साँझसम्म गन्तव्यमा पुग्ने गरेका छन् तर बर्सातको समयमा सोखुखोलाको बगरमै दिन–रात बित्ने गरेको यात्रुहरू बताउँछन् ।

ठुला सवारीसाधन खोला तर्न पानीको मात्रा घट्नै पर्ने हुन्छ । मोटरसाइकल स्थानीयवासीले शुल्क लिएर बोकेर तारिदिने गरेका छन् । खोला तारेबापत प्रतिमोटरसाइकल पाँच सयदेखि हजार रुपियाँसम्म शुल्क स्थानीयवासीले लिने गरेका छन् । केही दिनको काम लिएर काठमाडौँ गएका खोटाङ रावा बेँसी गाउँपालिका–६, हौँचुरका वडाध्यक्ष चिरञ्जीवी कार्की आउँदा जाँदा पाँच÷पाँच सय रुपियाँ दिएर मोटरसाइकल तारेको बताउनुहुन्छ । आफै जबरजस्ती तार्न खोज्दा कतिपय सवारीसाधन खोलाले बगाउने गरेको छ । कतिपय सवारीसाधन भने खोला भित्रै फसिरहेको हुन्छ ।

सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो तर पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी–विकास एन्ड ब्रदर्श–आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । आत्रेयले २०७७ साल कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई वटा पुल निर्माण गर्न पाँच करोड ३६ लाख ७७ हजार रुपियाँ (भ्याटबाहेक) मा ठेक्का सम्झौता भएको थियो । आत्रेयसँग सम्झौता गरिएको म्याद पनि गत कात्तिक २६ गते सकिसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापका इन्जिनियर दिपेश मुनाकर्मीले बताउनुभयो ।

सम्झौता मिति सकिएको एक वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माणको काम २४ प्रतिशत मात्र भएको उहाँको भनाइ छ । म्याद थप्न निर्माण कम्पनीले कार्यालयमा केही समयअघि निवेदनसमेत दिएको थियो तर आवश्यक कागजपत्र नपुगेकाले म्याद नथपिएको उहाँले बताउनुभयो । हाल निर्माण कम्पनी बेखबर छ । ठेक्का तोड्न कार्यालयले निर्माण कम्पनीलाई चिठीसमेत पठाइसकेको छ तर आत्रेय कम्पनीका प्रमुख रवीन्द्र कुँवर सम्पर्कमा नआएको उहाँको भनाइ छ । कुँवरलाई सम्पर्क गर्न खोज्दा फोन नलाग्ने र लागे पनि नउठ्ने समस्या रहेको इन्जिनियर मुनाकर्मीको भनाइ छ

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array