छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ पाँच किलोस्थित सडकमा बा.१५ च ९३७० नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक काठमाडौं नागार्जुन नगरपालिका-४ घर भएका ३६ वर्षीय उत्तम महर्जन र स्कार्पियोमा सवार बाह्रविसे नगरपालिका-७ घुम्थाङ बस्ने ४१ वर्षीय बल बहादुर खत्री रहेका छन् । गम्भीर घाइते भएका उनीहरूको सिन्धु सदाबाहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कार्पियोमा सवार ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

            जुम्ला, कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे.१ ज १०९९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको हाल सनाखत हुन सकेको  छैन् ।

नुवाकोट, बिदुर नगरपालिका-१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर रसुवा उत्तरगया गाउँपालिका-१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । टिपरको टायरले किँचिदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-२ नारायणी पुलस्थित सडकमा बाग्मती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालक चितवन भरतपुर महानगरपालिका-२८ बस्ने २८ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array