लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशको विस्तारित बैठक बर्दिबासमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

बर्दिबास,  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशको विस्तारित बैठक बर्दिबासमा सुरु भएको छ ।

सोमवार अपराह्नदेखि सुरु भएको बैठकमा समसामयिक राजनैतिक अवस्था, मधेसका मुद्दा पार्टीको भावी रणनीतिलाई पहिलो एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ । सङ्गठन निर्माणको कार्यनीति, पार्टी एवं सराकारबिच सम्बन्ध र पार्टी सञ्चालनका लागि अर्थनीति र केन्द्रीय सर्कुलर अनुसारको लेबी सम्बन्धमा छलफल भइरहेको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताउनुभयो ।

बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विस्तारित बैठकको महत्त्व र औचित्यका सम्बन्धमा धारणा राख्नुभएको थियो । उहाँले अनेकन् कठिनाइको सामना गर्दै अघि बढेको लोसपाले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि पहिचान र सम्मानको दियो (चिराग) लाई निभ्न नदिएको बताउनुभयो ।

बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको औचित्य र आवश्यकता अझै समाप्त नभएको बताउनु भयो । मधेस आन्दोलन र ७ बुँदे सम्झौताको स्मरण गर्दै उहाँले ती माग अझै पूरा नभएकोले अधिकारको लडाइँबाट लोसपा पछि नहटेको स्पष्ट पार्नुभयो ।

संसदमा पेस भएको राजनीतिक मुद्दा फिर्ता लिने विधेयकको लोसपा समर्थनमा रहेको जनाउनुभयो । उहाँले पहिचान र अधिकारको आन्दोलनमा होमिएका जनतामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने धारणा राख्नुभयो ।

लोसपाका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालको राजनीतिमा नैराश्य बढेको चर्चा गर्नुभयो । कहीँ कतै केही नभएको जस्तो भाष्य खडा गरेर जनतामा ‘फ्रस्टेसन’ बढाइएकोले यसको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array