चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ र तत्काल फिर्ता बोलाउन चीन सरकारलाई भन्नुपर्छ : दीक्षित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं, । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् । चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिबारे अन्नपूर्ण पोष्टले समाचार लेखेको थियो । सोबारे दीक्षितले परराष्ट्रमन्त्री एनपी साउदले तत्काल चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।
आजको अन्नपूर्ण पोष्टमा ‘चिनियाँ राजदूतद्वारा गैरकूटनीतिक अभिव्यक्ति’ शीर्षकको समाचार प्रकाशित भएको छ । जसमा भनिएको छ–‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात ग¥यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात ग¥यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?–चिनियाँ राजदूत सोङले प्रश्न गरे।’
रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दीक्षितले यस्तो माग गरेका हुन् । उनले भने–‘चिनियाँ राजदूतको कुरा जुन उठाउनुभयो, यो कुरा मैले भर्खरै थाहा पाएँ । मिडियामा कतै आएको पनि थिएन । अन्नपूर्ण पोष्टले मात्रै यो कुरा दिएको रहेछ । यस्तो कुरा चिनियाँ राजदूतले भन्नु त यो त गैरजिम्मेवारीपूर्ण कुरा हो । यो त हाम्रो भारतसँगको सम्बन्ध नै खत्तम गर्नेजस्तो कुरो आयो । हामी कुनैपनि छिमेकीसँग सम्बन्ध खराब गर्न सक्दैनौं । यो याद गर्नुहोला । हाम्रो चीन र भारत यी दुई जुन छिमेकी छन्, यी दुवैसँग हामीले सम्बन्ध खराब गर्न सक्दैनौं । तर, याद गर्नुहोला–भारतसँग हाम्रो ओपन बोर्डर छ । ओपन बोर्डर भन्नेबित्तिकै विशेष सम्बन्ध हुन्छ । यो आजमात्रै होईन, सयकडौं वर्षदेखि विशेष सम्बन्ध छ । ओपन बोर्डर भएको नाताबाट । आज चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो । यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस भनेर भन्नुपर्छ । यो उहाँले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होईन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काउ भनेर हामीले भन्न सक्नुपर्छ ।’
दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए । उनले भने,‘त्यतिसम्म हामी नेपालले हिम्मत गर्नुपर्छ । देखाउनुपर्छ । आखिरमा जे भएपनि चीनले पनि आफ्नो नक्सामा नेपालको नक्सा (चुच्चे नक्श) पनि हालेन । मलाई थाहा छ–चुच्चे नक्शा नहाल्नुमा कुनै कारण पनि छ । ओलीजीले त्यो नक्शा त हाल्नुभयो । उहाँको तत्कालिन सरकारले संसारभरि आफ्नो मित्रराष्ट्रलाई चुच्चे नक्शा पठाएन । हाम्रो पार्लियामेन्टले पास त गर्यो, तर परिमार्जित नक्शा पत्राचार गरेन । अहिलेका परराष्ट्रमन्त्री एनपी साउदजीले नक्शा नपठाएको भन्नुभयो ।’
उनले नेपालले चुच्चे नक्शा जारी गर्दा सबै मित्रराष्ट्रहरुलाई पत्राचार गरेको भए राम्रो हुने धारणा राखे । उनले भने,‘जिओपोलिटिक्स कस्तो छ भने हामीले केही गर्न समर्थन चाहिन्छ । ओलीले पनि चीनसँग छलफल गरेको भए हुन्थ्यो । तर, चुच्चे नक्शा जारी गर्दा उहाँले छलफल गर्नुभएन । त्यो उहाँको ठूलो गल्ती थियो । चीनलाई हामीले पार्लियामेन्टबाट चुच्चे नक्शा जारी गर्दा थाहा थियो । नेपालमा यत्रो हलचल भएर हालेको नक्शा । चीनले मलाई थाहा थिएन भनेर भन्नु यो गलत हो । चिनियाँ राजदूतको अभिव्यक्ति नेपालको लागि अएकदमै अनर्थको कुरा हो ।’
अहिलेको सरकारले भ्रष्टाचार निर्मुल पार्छु र सुशासन कायम गर्छु भनेर ठूलो गफ गरेपनि काम भने गर्न भने नसकेको आरोप लगाए । उनले भने,‘भ्रष्टाचार निमुर्ल पार्ने कुरा अहिले देखिहाल्नुभयो, हात्ति आयो, हात्ति आयो फुस्सा भयो ।’ दीक्षितले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन काण्ड प्रकरण यत्तिकै सेलाएर जान लागेको आशंका व्यक्त गरे । उनले भने,‘अहिलेका प्रधानमन्त्री र गृहमन्त्री मिलेपछि अहिले चर्चामा रहेका भ्रष्टाचारका सबै काण्ड टुँगो लाग्छ भनेका थियौं, तर त्यस्तो देखिएन । बास्तवमा नेपालको रोग भनेको नै भ्रष्टाचार हो । २००७ सालदेखि आजसम्मका भ्रष्टाचारका काण्ड टुँगो लागेका छैनन् । यो त क्यान्सर नै हो, यसलाई निमिट्यान्न पार्ने अवसर थियो । देखिहाल्नुभयो, ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामलाई घरमा गएर बयान लिईन्छ । अनि मुद्दा चलाउँदा साक्षीमात्रै बनाईन्छ । क्याविनेट सिस्टममा प्राईममिनिष्टर भनेको सर्वेसर्वा हो । अर्डर दिने उनीहरु नै थिए । भुटानी शरणार्थी प्रकरणमा पनि जब कांग्रेसकै माथिल्लो नेता खासगरी आरजुसम्म पुग्ने डर हुन्छ, तब पुलिस सरुवा गरिन्छ । त्यो गर्नेमा नारायणकाजी होईनन्, देउवाको प्रेसरले प्रचण्डले गरेको हो ।’
सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरालाई चिट नकाटिएकोमा पनि उनको आक्रोश थियो । उनले भने,‘महरालाई चिट काटेको छैन् । वर्षमान पुनको त्यत्रो तस्विर बाहिरियो, उनलाई पनि केही गरेको छैन् । अहिले प्रचण्डले भ्रष्टाचार निर्मुल पार्छु भन्ने विल्कुल आँखामा छारो हाल्ने काम हो । अहिलेका तीनै वटा मुद्दा टुँगो लाग्दैनन् ।’
दीक्षितले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शीर्ष नेताहरु मिलेर बाइपास गरिएको टिप्प्णी गरे । उनले भने,‘अहिले उनलाई हटाउन लागिएको कुरा आएको छ, नारायणकाजीलाई सुरुदेखि नै हटाउन खोजिएको थियो । नारायणकाजीलाई हटाउनेबित्तिकै भ्रष्टाचारका चार वटै काण्ड समाप्त हुन्छ । अहिले एनी हाउ, नारायणकाजी हटाउ अभियान चलेको छ । गिरीबन्धु टि काण्डमा ओली र एमाले पनि मुछिएको छ । त्यसैले सबै मिलेर नारायणकाजी हटाउ अभियान नै चलेको छ । ठूला ठूला भ्रष्टाचारमा शीर्ष नेताहरु सबै मुछिन लागे । माथिल्लो तहका सबैलाई छुन आँटेपछि गृहमन्त्री हटाउने षड्यन्त्र हुन थालेको छ । प्रचण्डको भ्रष्टाचार हटाउने कुरा देखावटीमात्रै हो ।’
अहिले प्रधानमन्त्री प्रचण्डले जे पायो त्यही बोल्ने गरेको आरोप लगाए । उनले भने,‘प्रचण्डको बोली कस्तो भयो भने ? जे पायो त्यही बोलिदिने । उनी आँफै प्रधानमन्त्री छन्, तर, सडकमा लाखौं मान्छे उतार्ने चेतावनी दिन्छन् । त्यस्तो प्रधानमन्त्री के खान टिकेर बसेको त ? राजीनामा दिनुपर्दथ्यो । राजीनामा दिएपछि आउने को त ? फेरि यिनी प्रचण्ड, देउवा, ओलीलगायत नै आउने हुन् । यिनीहरुले हामीलाई खत्तम पारेका छन् । पूराना दलहरुमाथि अब विश्वास भएन । स्वतन्त्र आउनुपर्छ ।’
अहिले सतहमा आएका भ्रष्टाचारका काण्डको अनुसन्धान निश्कर्षमा नपुग्ने खतरा बढेको उनको दाबी थियो । उनले भने,‘यो सरकारले काम गर्न सकेन । प्रचण्डले आँफै भनिसके त अब जनता लाखौं सडकमा उतार्ने भनेर । प्रचण्डले मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको भनिसकेका छन् । प्रधानमन्त्री भनेको सर्वेसर्वा हो, अनि यस्तो कुरा गर्ने ?हाम्रा नेताहरु फूलमाला र खादा ओढाउने लायकका रहेनछन् ।’
दीक्षितले नेपाली कांग्रेसपनि डामाडोल हुने टिप्पणी गरे । उनले भने,‘कांग्रेसको सिद्धान्त नै खत्तम भयो । उसबाट के आशा गर्ने ? गृहमन्त्री अहिले हटायो भने गलत हुन्छ । जथाभावी गर्ने होला । गृहमन्त्री श्रेष्ठ अहिलेसम्म भ्रष्टाचारमा संलग्न छैनन् । कुनै पनि हालतमा गृहमन्त्री हटाउन हुन्न । गृहमन्त्रीबाट नारायणकाजीलाई हटाए उनले मिडियामा सबैको पोल खोल्नुपर्छ । जनताको लागि त्यो जरुरी छ । नारायणकाजीले आँफै राजीनामा दिनुहुन्न । यी सबै फुत्किन्छन् । नेपाल असफल राष्ट्रतर्फ गैसकेको छ । नेपाल डुबिसकेको छ ।’
उनले अहिलेको पार्लियामेन्ट र डेमोक्रेसी नेपालको लागि नचलेको टिप्पणी गरे । उनले भने,‘यो विल्कुलै नेपालको लागि चलेन । यो ००७ सालमा ल्याउँदा नेताहरुले भारतको नक्कल गरेर ल्याए । अब सडकमा जाने बेला आइसकेको जस्तो लाग्छ । शीर्ष नेताहरु भ्रष्टाचारको लपेटा र चपेटामा परिसकेका छन् भने के आशा गर्ने ?’ उनले अहिलेको सिस्टम नै नचलेको दाबी गरे ।
दीक्षितले सर्वदलीय सरकार बनाउने हो कि भन्ने पनि कुरा उठाए । उनले भने,‘सर्वदलीय सरकार बनाउन सकिन्छ । तर, यसो गर्दा झन समस्या हुन्छ । पार्लियामेन्टमा अपोजिशन बलियो हुनुपर्छ । हाम्रो लागि बोल्ने व्यक्ति पार्लियामेन्टमा चाहियो । जनआन्दोलन गर्ने बेला आउँदैछ । सरकारसँग जनता आक्रोशित छन् । कांग्रेस कम्प्लिट्ली माओवादी भैसक्यो । हिजो डेमोक्रेसीको खम्बा थियो । भ्रष्टाचारीलाई झुण्ड्याउँछन भनेको प्रचण्ड आँफै भ्रष्टाचरी भए ।’ उनले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पनि आवश्यकत्ता औंल्याए ।
सो क्रममा उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको पछिल्लो फेशबुक स्टाटसको पनि विरोध जनाए । उनले भने,‘बालेन शाहको पनि आक्रोश देखियो । प्रहरीको अपराध थियो भने, मलाई त त्यो पनि लाग्दैन् । शनिबारको दिन अफिसियल गाडी हिँड्न पाउँदैन् । सिंहदरबार जलाउँछु भन्न पाईन्छ ?हेर्नुहोस, धेरै पहिले सिंहदरबारमा आगो लागेको थियो । किर्तीनिधि विष्ट प्रधानमन्त्री थिए । राजा वीरेन्द्र थिए । सिंहदरबार आगो लागेको कारण किर्तीबाबुले राजीनामा दिनुभयो । सरकारी संरचना त बचाउनुपर्छ । बालेनको मनस्थिति असन्तुलित देखियो । यस्तो पाराले भोलि सुकुम्बासी टोलमा पसेर के गर्ने हो कि ? नाङ्लो पसलेलाई पक्राउ गर्ने हो कि ? उनको ओहोदासँग त्यो स्टाटस सुहाएन । मेयर भनेको सरकारकै अंग हो । गृहमन्त्रालयले स्पष्टीकरण माग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array