चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्छ : कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० भाद्र २०८०, बुधबार
14 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भने,‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’
उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’–उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने,‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।’
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उनको टिप्पणी थियो । उनले भने,‘कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।’
उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।’
उनले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।’ उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन् । कसैले पनि पैसा लिएको भनेर भनेको छैन् । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन् ।’
यादवले बालकृष्ण खाँणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर गरे । उनले भने,‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा । क्याविनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरुको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए । ती अहिले पनि बाहिर छन् । जसको सिग्नेचर छैन्, उ जेलभित्र छ । आज न भोलि अदालतले बालकृष्ण खाँणलाई न्याय दिन्छ । सबैले भनेका छन् कि उहाँ निर्दोष हो । उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ ।’
उनले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे । उनले भने,‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ । पाँच वर्षसम्म योे गठबन्धन रहन्छ । प्रचण्डजी पछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ । यो गठबन्धन कायम रहन्छ । कांग्रेसले अरुसँग गएर सरकार बनाउँदैन् ।’
उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेण्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने पनि दाबी गरे । तर, अहिले गृहमन्त्री हटाउनेबारे आफूहरुले कुनै इस्यु वा एजेण्डा नबनाएको उनको जिकिर थियो । उनले भने,‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ । हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ । तर, उहाँले निश्पक्ष भएर काम गर्नुपर्छ । उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ ।’ उनले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले बढिभन्दा बढि काम गर्नुपर्ने सुझाए । उनले भने,‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । उनले भने,‘चिनियाँ राजदूतले भारतसँगको हाम्रो अर्थतन्त्रको विषयलाई लिएर बोल्नुभएका कुराको म केही व्याख्या गर्न चाहन्छु । कुटनीतिक मान, मर्यादामा र यसको बुझाईमा एउटा राजदूतले अर्को देशको विषयमा नकारात्मक टिप्पणी गर्नुहुँदैन् । झन हामी त दुई वटा विशाल महान आर्थिक रूपले अथवा सबै प्रकारले विशाल देशका बीचमा छौं । नेपाल बडो संवेदनशील परिस्थितिमा कुटनीतिक हिसाबमा रहन्छ । हामीले पञ्चशीलको भावना लिएर हरेक कुरा गर्नुपर्छ । दुवै देशको बीचमा बराबर, सुमधुर सम्बन्ध र सहयोगको भावना, मान, मर्यादा आपसी कायम राख्नुपर्छ । यो हाम्रो आवश्यकत्ता र जरुरत हो ।’
उनले चिनियाँ राजदूतलाई कुटनीतकि मान र मर्यादामा रहेरमात्र कुरा गर्न चेतावनी दिए । उनले भने,‘म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु–कुटनीतिक मान, मर्यादामा रहेरमात्रै कुरा गर्नुहोस । हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौं । नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाईहाल्नुपर्छ । कोही रिसाउला, कोही खुशाउला । कसले मन दुखाउला या हाम्रो योजना बिगार्ला भन्ने सोच्नुहुँदैन् । त्यस्तो गर्दै गयौं भने झनझन हामी खाल्डोमा पर्छौं ।’
सो क्रममा उनले चिनियाँ पक्षले तातोपानी नाका खोलेकोमा भने खुशी व्यक्त गरे । उनले भने,‘यो राम्रो पक्ष हो । कोभिडपछि चिनियाँ नाका बन्द थिए । अब विस्तारै खुल्ने क्रम सुरु भएको छ । यो राम्रो कुरा हो ।’ उनले मानसरोवरमा भारतीय मुलका यात्रीहरुलाई अप्ठ्यारो परिस्थिति चिनियाँ सरकारले गरेको टिप्पणी गरे । उनले भने,‘त्यसले नेपालको पर्यटन क्षेत्र र अझै सुदुरपश्चिम र मध्यपश्चिमको पर्यटन क्षेत्रमा ठूलो घात भएको छ । मेरो यही क्रममा चिनियाँ सरकार र राजदूतावाससँग अनुरोध छ–की हिल्साबाट प्रयोग हुने मानसरोवरका यात्रुहरुको लागि अझ त्यसमा प्रष्ट रुपमा भन्दा भारतबाट आउने हिन्दू धर्मालम्वीहरुको लागि पहिलेको जस्तो सहज वातावरण बनाईदिन अनुरोध छ ।’
राणाले भारतीय सरकार र नेपालस्थित् राजदूतावासलाई नेपाली सवारी साधन भारत जाँदा सुविधा दिन आग्रह गरे । उनले भने,‘भारतीय दूतावासलाई पनि पटक पटक अनुरोध छ, जस्तो सुविधा हामीले भारतीय वाहनलाई यहाँ दिएका छौं (नेपालभित्र) यो पञ्चायतकालबाटै दिएको हो । अहिले नेपाली वाहन भारतमा तीन महिनाको लागि ६ हजार भन्दा माथि पैसा तिर्नुपर्छ । हामीलाई यो व्यवहार किन भारतले गरिरहेको छ ।’
सो क्रममा उनले वर्तमान सरकारबारे आफूहरुले सुरुमा सफल भएको ठानेको स्मरण गराए । तर, अहिले आएर भ्रष्टाचारको छानबिन गर्दै जाँदा आफ्नो मान्छे बचाउन खोजिएको उनको गुनासो थियो । उनले भने,‘हामीलाई पनि यो सरकार सफल भएको ठानेका थियौं । जब भ्रष्टाचारको विषयको छानबिन नजिक आयो, अनुसन्धानरत प्रहरी अधिकृतलाई सरुवा गरियो । छानबिन अवरोध पार्न त्यसो गरियो । उहाँहरुले आफूले चाहेजस्तो छानबिन भएन । अदालतले पूर्व प्रधानमन्त्रीहरुलाई बयान लिन भन्यो, तर त्यसो गरिएन । सुन तस्करीमा पनि सबै मिलेका छन् । अहिलेपनि एक जना पूर्व आईजीपी भागेर अमेरिका पुगेको छ । सरकारले भ्रष्टाचारी समात्ने हो भने प्रहरी, प्रशासन, अख्तियार र सिआईबीलाई खुला छोड्नुपर्छ । स्वतन्त्रता प्रदान गर्नुपर्छ । अनुसन्धानकर्ता अधिकृतहरु सुरुवा गर्न खोज्नु भ्रष्टाचारीलाई बचाउन खोजेको हो ।’
नेता राणाले आफूहरु सरकारमा जाने कुरा हल्लामात्रै रहेको दाबी गरे । उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन् । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौं । तर, उहाँहरुले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’ उनले संघ र प्रदेश कतैपनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जानेगरि छलफल गरेको पनि छैन् । जाने मनस्थितिमा पनि छैनौं ।’
कार्यक्रममा पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र नेपाली दल आँफै सक्षम छन् । हाम्रो सञ्चालनको तौरतरिकामा हामीले कसैलाई पनि टिकाटिप्पणी गर्न अधिकार दिएका छैनौं । हाम्रा प्रत्येक देश १८५ देशसँग दौत्य सम्बन्ध छन् । भारत र चीन हाम्रा दुई छिमेकीहरुसँग सुमुधर सम्बन्ध छ । केही वर्ष यता के देखियो भन्यो आफ्नो विषयवस्तुलाई, आफ्नो विषयमा उठेका प्रश्नहरुलाई प्रतिउत्तर दिनुभन्दा अरु मुलुकसँग नेपालको सम्बन्धमा मित्रराष्ट्र चीनका परराष्ट्रमन्त्री र राजदूतले बोल्न थाले । नेपालका लागि चिनियाँ राजदूतले आइतबार बोलेको कुरा मैले सुनेको थिइनँ । १९६० मा भारत र चीनबीचको युद्धको बेलामा पनि राजदूतहरुबीच नेपालमा पनि केही वाकयुद्ध भएको थियो कि भनेर हेरेको थिएँ । केही पनि भएको रहेनछ । त्यो बेलामा पनि उनीहरु बोलेनन् । सन् २०२० मा गल्वानमा चीन र भारतबीच युद्ध हुँदा यहाँ नेपालमा भएका भारत र चीनका राजदूतहरु कोही बोलेनन् । तर २०२०÷०२१ तिर जब हामीले एमसीसी एग्रिमेन्ट पार्लियामेन्टबाट अनुमोदन गर्न थाल्यौं, चीनको परराष्ट्र मन्त्रालय बोल्न थाल्यो । आइतबार जुन चिनियाँ राजदूतले बोल्नुभएको छ, त्यो अमर्यादित, अकुटनीतिक र एकदमै अनवारेन्टेड र यस्तो अनकल भन्छ अंग्रेजीमा । त्यस्तो किन उनले किन बोले ? मैले बुझ्न सकेको छैन् ।’
उनले चिनियाँ राजदूतको यस्तो अभिव्यक्तिको अर्थपनि केलाए । उनले भने,‘चिनियाँ राजदूतले तीन वटा कुरा गरे । पहिलो कुरा उनले वर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई नेगेट गरे । अस्विकार गरे । नेपालमा विद्युत लगानी गर्न हाम्रो पाइभेट सेक्टर र निजी सेक्टरको कुरा हो, १० हजार मेगावाटको लागि अब, कमसेकम हामीे २० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्छ । त्यसको लागि अन्तर्राष्ट्रिय समूदायलाई नेपालले कल गरेको छ, त्यसमा उनले कमेन्ट गरेका छन् । तेस्रो कुरा उनले नेपालको निर्यात र आयातमा कमेन्ट गरेका छन् ।’
उनले सन् २०१९ को अक्टोबरमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ राजदूतहरुको गतिविधि नेपालको आन्तरिक राजनीतिमा सिधै प्रभाव पार्ने खालका गतिविधि देखिएको टिप्पणी गरे । उनले भने,‘दुई कम्युनिष्ट एक पार्ने कुरादेखि, यो भन्दा अगाडिको राजदूत राति १२ बजे राष्ट्रपतिलाई भेट्ने, विहान ७ बजे प्रधानमन्त्रीलाई भेट्ने, ९ बजे प्रचण्डलाई भेट्ने अनि १० बजे माधव नेपालालई भेट्ने काम भए । यस्तो खालको गतिविधि दुनियाँमा कहीँ देखिएको थिएन । चिनियाँ राजदुत र चिनियाँ नेताहरुको गतिविधि देखिएको थियो । हाम्रा नेताहरु चीन गएर आएपछि चीनले एक होउ भनेको कुरा गरेका छन् । यो पनि आन्तरिक मामिलामा हस्तक्षेप हो । भुकम्पको बेलामा रोकिएको तातोपानी नाका अवरोध भयो ।’

प्रतिक्रिया दिनुहोस्

Array