अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं,  झापा, भद्रपुर नगरपालिका-८ स्थित एयरपोर्ट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ९७ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ नक्सालबारी बस्ने २८ वर्षीया कल्याणी बर्मन र सोही ठाउँ बस्ने २८ वर्षीया राधा सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सोधपुछको क्रममा उक्त लागूऔषध भारत दार्जिलिङ नक्सालबारी बस्ने २४ वर्षीय कल्याण बर्मनको भएको र उनी काकरभिट्टामा बसेको भन्ने खुल्न आएपछि बर्मनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ केजीसहित कास्की अन्नपूर्ण गाउँपालिका-५ नयाँपुल बस्ने १९ वर्षीय सुजन सुनार समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-५ बिकाशनगर बस्ने कैलाली जोशीपुर गाउँपालिका-२ घर भएका २३ वर्षीय दिनेश रावत (थारु) लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-३ मालाखेती बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।     सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array