काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन, श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो । फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array