बहुआयामिक चुनौतिहरूलाई सम्बोधन गर्न सुदृढ अन्तर्राष्ट्रिय सहयोग आवश्यक- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०८०, शुक्रबार
5 Min Read
Aa

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।  इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।   सो अवसरमा प्रधानमन्त्री दाहालले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी विशेष संस्मरणात्मक आवरणमा टाँचा लगाउनुका साथै ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गर्नुभयो ।

 प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गर्नुभयो । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्दै कानून कार्यान्वयन गर्ने निकाय र समुदायबीच विश्वास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले इन्टरपोलसँगको साझेदारीमा नेपाल प्रहरीको उपलब्धी र योगदानको स्मरण गर्ने ‘इन्टरपोल कफि टेबल बुक’ सार्वजनिक गरिएको चर्चा गर्नुहुँदै पुस्तक प्रहरीको कडा परिश्रम र व्यावसायिकताको प्रमाण भएको बताउनुभयो । कानून र व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयासहरू उक्त पुस्तकले प्रदर्शन गरेको बताउनुहुँदै ‘विशेष संस्मरणात्मक आवरण’ जारी गर्नाले नेपाल र इन्टरपोलबीचको बलियो सम्बन्धको प्रतीक, विश्वव्यापी अपराध विरुद्धको लडाईंमा आवश्यक एकता र सहकार्यको प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो ।

समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवाद विरुद्धको विश्वव्यापी लडाईंमा इन्टरपोल अमूल्य साझेदार भएको बताउनुहुँदै अन्तर्राष्ट्रिय प्रहरी सहयोग अभिवृद्धि गर्न, महत्वपूर्ण सूचनाको आदान प्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै एनसिबी काठमाडौंले अन्तर्राष्ट्रिय अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार र अन्य गैरकानूनी गतिविधिहरु विरुद्ध लड्न अथक प्रयास गरिरहेको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोगलाई सुदृढ गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउनुहुँदै नेपाल सरकार र सम्बद्ध निकायहरू अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्न दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै अन्तर्राष्ट्रिय अपराध विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । मानव बेचबिखन, साइबर अपराध, आतंकवाद, लागूपदार्थ ओसार पसार जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न यस्तो प्रतिबद्धता महत्त्वपूर्ण रहने चर्चा गर्दै सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले विश्वमा नयाँ सुरक्षा खतराहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै ‘ग्लोबल भिलेज’ को अवधारणाले अन्तर्राष्ट्रिय अपराध विरूद्ध प्रभावकारी रूपमा लड्नका लागि कानून कार्यान्वयन गर्ने निकायबीचको सहकार्यको आवश्यकतामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसले पनि प्रहरीमा महिलाको महत्वपूर्ण भूमिकालाई उजागर गरेको उल्लेख गर्नुहुँदै  नेपाल प्रहरीमा बढ्दो महिला सहभागिताले कानून कार्यान्वयनमा थप योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपाल प्रहरीमा ११ प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको र समुदायको माग तथा आवश्यकता अनुसार संख्या बढाइने उहाँले उल्लेख गर्नुभयो ।

            नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array