नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन शुक्रबार जारी सूचनामा उल्लेख छ ।

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने भएका छन् । प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ ।

इच्छुक लगानीकर्ताले भदौ २४ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने सूचनामा उल्लेख छ । ऋणपत्र भदौ २५ गते सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल राष्ट्र बैङ्कबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका छन् ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array