कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ भाद्र २०८०, आईतवार
3 Min Read
Aa

 कैलाली, कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा हुनुहुन्छ।

यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिनुभएको छ। उहाँ अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।

यसै गरी नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ताको पनि सोही कार्यालयले जाँच गर्ने गरेको छ तर बाली संरक्षण अधिकृत नहुँदा एक महिनादेखि आयात निर्यात ठप्प भएको सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी दलबहादुर ऐरले बताउनुभयो। मुख्य कार्यालय गड्डाचौकी मातहतको सो कार्यालयमा अधिकृत ठगुन्ना र कार्यालय सहयोगी ऐर गरी दुई जना मात्रै कर्मचारी कार्यरत छन्। हाकिम नभएपछि क्वारेन्टाइन कार्यालयबाट हुने काम रोकिएको कार्यालय सहयोगी ऐरले बताउनुभयो।

“कार्यालयमा अहिले कामै छैन,” उहाँले भन्नुभयो, “दिनभरि यत्तिकै बस्ने गरेको छु।” चामल, गहुँ, दाललगायतका खाद्यान्न र फलफूल, तरकारीको आयात ठप्प हुँदा त्यसको मूल्य आकासिनुका साथै अभाव पनि हुन थालेको छ।  “हाकिम गएपछि यो कार्यालय बन्दसरह नै भएको छ। एक जना कार्यालय सहयोगी मात्रै बस्नुहुन्छ। हाकिम नहुँदा उहाँको कामै छैन। सुतेर समय बिताउने गर्नु हुन्छ”, एक सेवाग्राहीले गुनासो राख्नुभयो।

आयात रोकिँदा दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएको छ। कच्चा पदार्थको अभावमा उद्योग समस्यामा परेको विवेक पोल्ट्री फर्म एवं दाना उद्योगका सञ्चालक विवेक भट्टले बताउनुभयो।

उहाँका अनुसार क्वारेन्टाइन कार्यालयमा जाँच रोकिँदा खाद्यान्नसहित दाना बनाउने कच्चा पदार्थ बोकेका गाडी पारि भारतमै रोकिएका छन्। अर्को कर्मचारी पठाएर भए पनि क्वारेन्टाइनको काम सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ।

क्वारेन्टाइन कार्यालयको काम एक महिनादेखि ठप्प हुँदा पनि अर्को कर्मचारी नपठाउनु हदैसम्मको लापरबाही भएको आरोप व्यापारीहरूको छ। “क्वारेन्टाइनको काम बन्द हुँदा आयात, निर्यात ठप्प भएर हामी सबैलाई नोक्सान भइरहेको छ,” उहाँले भन्नुभयो।

“यो सञ्चालन भएको बेला भन्सारलाई राजस्व उठ्ने गर्छ। हामी जस्ताको व्यापारमा पनि सहयोग पुग्ने गर्छ।” क्वारेन्टाइन कार्यालय गड्डा चौकीले अर्को कर्मचारी पठाएर काम सञ्चालन गर्नुपर्नेमा उहाँहरूको जोड छ।  एक महिनाको बिदा लिएर विदेश जानुभएका कार्यालय प्रमुख ठगुन्ना चाँडै स्वदेश फर्किने जनाइएको छ। “अब सम्भवतः उहाँ आइहाल्नुहुन्छ होला,” कार्यालय सहयोगी ऐरले भन्नुभयो, “उहाँ आएपछि पुनः सञ्चालनमा आउने छ।”

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array