माओवादीलाई जनयुद्धका घाइते, अपाङ्गहरुको चेतावनी, ‘समस्या बेवास्ता गरिए क्यान्टोनमेन्टभित्रको वास्तविकता बाहिर ल्याउँछौं’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनयुद्धका घाइते, अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई अपील गरेका हुन् ।
नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताए ।
जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरुको भनाई छ । राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाईतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
जनयुद्धको घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए । आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने उनले बताए । अहिले माओवादी नेताहरुको राजर्शी जीवनशैली रहेको उनले टिप्पणी गरे ।
‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं । पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं ।’ उनले भने, हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं ।’
पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले आफूहरुले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए । उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए । प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाईज गराएको आरोप लगाए । उनले प्रचण्डले संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको बताए । उनले राज्यसँग जीवनको भिख नभएर मानव अधिकार र बाँच्न पाउने हक माग्न पीडित, घाईत र अपाङ्गलाई आग्रह गरे ।
कार्यक्रममा रमेश कालिकोटे, सामाजिक अभियान्ता तारा बराल लगायतले जनयुद्धका घाईते, अपाङ्गको पक्षमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए ।
माओवादी पटक–पटक सरकारमा सहभागी भएपनि जनयुद्ध लड्ने घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको वेवस्ता गरी विचल्ली अवस्थामा छाडेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array