हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

हेटौँडा, हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याब लगायतका सेवा बन्द रहेको छ । चिकित्सकहरूले असुरक्षित महसुस गर्दै काम गर्न नसक्ने बताएपछि सेवा प्रवाह बन्द भएको उनले बताए । यता हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालका ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेसु सापकोटालाई बुझाएका हुन् । मेसु सापकोटाको हस्ताक्षर सहित सो पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी रहेको छ । यद्यपि सो पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष नपठाएको मेसु सापकोटाले बताए । समय र परिस्थिति अनुसार राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनले बताए ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाका विषयमा छनबिन गरी कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले प्रहरी समक्ष उजुरी पठाएको छ । सङ्घका अध्यक्ष डा अनुप विक्रम कार्कीले दोषीलाई कारबाहीको माग गर्दै उजुरी पठाएका थिए । सो उजुरी आज शुक्रबार प्रहरीले दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array