छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ भाद्र २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं,  मोरङ, सुन्दरहरैचा नगरपालिका-३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र बिनोद भट्टराईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-१ सोहसाबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोभेट १४ टयाब्लेटसहित कपिलवस्तु मायादेवी गाउँपालिक-१ पकडी बस्ने २० वर्षीय बिष्णु गैरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बहदीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही गाउँपालिका-२ सानो नन्दनगर बस्ने ५१ वर्षीय रामनाथ अहिरबाट उक्त लागूऔषध किनेर ल्याएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ९ सय ट्याब्लेट , नाइट्रोभेट १६ ट्याब्लेट, एसकोडिल १ सय एमएलको १ बोतल र नगद ४४ हजार ६० रुपैयासहित फेला पारी रामनाथलाई समेत पक्राउ गरेको छ ।    कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१९ फुलवारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 झापा, अर्जुनधारा नगरपालिका-११ स्थित गिरी बन्धु टि स्टेटको चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-४ बस्ने ३० वर्षीय शुसिल तामाङ र सुनसरी ईटहरी उपमहानगरपालिका-१७ बालग्राम बस्ने २६ वर्षिय भुवन गिरी रहेका छन् । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध अर्जुनधारा नगरपालिका-११ बस्ने ४० वर्षीय बिनोद प्रधानसँग खरिद गरेको खुल्न आएपछि विनोदको घरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ जनकपुर-ढल्केबर सडकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ५० वर्षीय राज कुमार महतो र सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश २-०२-००१ प ०६२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-१२ सरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब १७ केजीसहित धनगढीमाई नगरपालिका-१२ गड्मे कुश्मा आले टोल बस्ने ४० वर्षीय ईन्द्र बहादुर ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array