शिक्षा विधेयकको विरोधमा देशभरका विद्यालय बन्द गरेर काठमाडौं उत्रिने शिक्षकहरूको चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ भाद्र २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौं, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ (संविधान दिवसकै) बाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको हो ।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरे । उनले नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा सहभागी हुनका लागि आह्वान गरे । जायज मुद्दा सरकारले सम्बोधन गरेपछि मात्रै आन्दोलन अन्त्य गर्ने उनको दाबी छ ।
संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए । विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।
उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै शिक्षकको आन्दोलनमा स्थानीय तहले चोर औंला नउठाउन चेतावनी दिए ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लच्छीराम ढकालले ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐन ५२ वर्षभन्दा पनि पहिलेको जसरी आएको टिप्पणी गरे । शिक्षकहरु सडकमा आउन पर्ने बाध्यकारी अवस्था आएको उनले बताए । विद्यालयभित्र काम गर्ने शिक्षक र कर्मचारीहरुको पेशागत सुरक्षामा सरकार गम्भीर नभएको उनको आरोप छ । उनले अहिलेको विधेयकले शिक्षक, कर्मचारीलाई मुर्ख बनाउन खोजेको बताए । विद्यालयभित्र काम गर्ने शिक्षक कर्मचारीलाई आगामी ३ गतेदेखि विद्यालय खोल्न नभएर सडक जाम गर्नका लागि ओर्लन आग्रह गरे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले नेपालको संविधानलाई हवला दिएर शिक्षा विधेयक ल्याउन खोजिएको बताए । राज्यले शिक्षालाई ध्वस्त बनाउन खोजेको उनको दाबी छ । विधेयकले शिक्षकमाथि लगाएका अध्याय र विभेद नसच्चिएमा सत्ता धरापमा पर्ने उनको चेतावनी छ ।
‘आज जसरी शिक्षकहरुमाथि अन्याय र विभेद तिमीहरुले लगाउन खोज्दैछौ, यदि त्यो सच्याइएन भने मलाई लाग्छ तिम्रो सत्ता पनि धरापमा पर्नेछ,’– उनले भने ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यवहाक अध्यक्ष कमला थापाले जनशक्ति तयार गर्ने शिक्षा क्षेत्रलाई सरकारले बेवास्ता गरेको बताईन् । सरकारले शिक्षक, कर्मचारीलाई बेवास्ता गरेर विधेयक ल्याएको उनको भनाई छ । शिक्षकको हातखुट्टा बाँधेर विधेयक ल्याउन खोजेको उनले बताईन् । सम्पूर्ण शिक्षक र कर्मचारीलाई आन्दोलनमा सहभागी हुने उनले आग्रह गरिन् ।
नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरी सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकका विरुद्ध मुलुकका चार लाखभन्दा बढि शिक्षक कर्मचारी सडकमा आउने बताए । सरकारले शिक्षकहरुको मुद्दामा पटक–पटक सहमति गर्ने र आफूहरु कक्षाकोठामा गएपछि बेवास्ता गर्ने गरेको उनको भनाई छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष कमला तुलाधरले सरकारले शिक्षकहरुले बेला–बेला गरेको आन्दोलनमा सहमति गरेको र उक्त सहमति रद्धिको टोकरीमा फालेको बताईन् । उनले आफूहरुलाई विद्यालय बन्द गरेर आन्दोलन गर्ने रहर नहुँदा पनि सरकारले आन्दोलनको रहर गरेको बताईन् । उनले अबको आन्दोलनमा ठूलो आँधिबेहरी आउने र कसैले पनि रोकेर रोक्न नसक्ने बताईन् । अब आफूहरुले सडक नछोड्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array