असोज ३ गते संविधान दिवसको दिन राजसंस्थाको पक्षमा जनप्रर्दशन गर्ने शाही युवा शक्ति नेपालको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा घोषणा गर्न दवाब दिने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संविधान घोषणा भएको दिनलाई कालो दिनका रूपमा मनाउँदै रत्नपार्कदेखि नारायणहिटीसम्म राष्ट्रिय झण्डासहित राजसंस्थाको पक्षमा जानप्रर्दशन गर्ने घोषणा गरेका हुन् ।
शाही युवा संघका अध्यक्ष पशुपति खड्काले राजसंस्था सर्वमान्य संस्था भएको बताए । उनले राजसंस्थाले जनतालाई कहिल्यैपनि विभाजन नगरेको बताउँदै राजसंस्था पुनर्स्थापनका लागि सडकमा आउन नेपाली जनतासमक्ष अपिल गरे ।
‘गणतन्त्र यो युगको पापी व्यवस्था’ भएको उनको टिप्पणी छ । गणतन्त्रमा जुनसुकै दल र नेता आएपनि ऊ पापीनै भएर जाने उनले बताए । गणतान्त्रिक व्यवस्था मान्ने पार्टी र व्यक्तिलाई बहिष्कार गर्न पनि उनले आग्रह गरे । राजसंस्थाले नै देशको अस्तित्व रक्षा गरेर देशलाई एकशुत्रमा बाँध्नसक्ने उनको दाबी छ ।
‘यो देशको राष्ट्रिय अस्तित्व रक्षा गर्ने, यो देशका निर्माण गर्ने, नेपाली जनतालाई एक शुत्रमा बाँधेर राख्ने राजसंस्था पुनर्स्थापना गरौं । यही असोज तीन गते एक जना नेपाली एउटा नेपालको झण्डा बोकेर रन्तपार्कमा आउनुस्,’– उनले भने ।
पार्टीका कार्यकर्ता भन्दापनि जनता भएर सडकमा आउन उनले आग्रह गरे । संविधान घोषणा भएसँगै नेपालमा विधिवत रुपमा राजसंस्थाको अन्त्य भएको, हिन्दुराष्ट्र अन्त्य भएको र देश सात टुक्रामा विभाजन भएको भन्दै उनले उक्त दिनलाई हरेक नेपालीले घरघरमा कालो दिनका रुपमा मनाउन पनि आग्रह गरे ।
‘अब आउने असोज ३ गते गणतान्त्रिक संविधान घोषणा भएको दिन हो । जुन संविधानले नेपालको राष्ट्रिय एकताको प्रतीक राजसंस्था हटायो, हिन्दुराष्ट्र हटायो, नेपाललाई सात टुक्रामा विभाजन गर्यो । त्यो संविधान जारी भएको दिनलाई हरेक राजावादी, राष्ट्रवादी र देशभक्त जनताले कालो दिनको रुपमा मनाउन पर्छ,’– उनले भने ।
जनताले साथ दिएको खण्डमा सोही दिन नारायणहिटीबाट श्रीपेच निकालेर ज्ञानेन्द्र सरकारको गद्दी आरोहण गराउने पनि उनको घोषणा थियो । गणतन्त्रलाई उनले धतुराको बोटसँग तुलना गरे । आँपको आशा गर्नेहरुले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न पहल गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला समितिका अध्यक्ष तथा पूर्व मेयर गणेश श्रेष्ठ, अपाङ्ग संघका अध्यक्ष दुजबहादुर पाइजा मगर र विश्वास भट्टले राजसंस्थाको पक्षमा आफ्ना भनाइहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array