एमालेमा विद्या भण्डारीको पुनरागमनको चर्चा र चीनको चासो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं । नेकपा एमालेमा प्रतिष्पर्धीविहिन अवस्था निर्माण र नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरिरहनुभएको छ । तर दोस्रो तहका नेताबीचको आन्तरिक प्रतिस्पर्धासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको चर्चा छ ।

पछिल्लोसमय थप सक्रिय बनेको मदन भण्डारी फाउण्डेसन मार्फत् सामाजिक कार्यमा सक्रिय हुन चाहेकी भण्डारीलाई साथमै राख्न चीनले समेत चासो देखाएपछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।

यो तस्विर एमाले महासचिव शंकर पोखरेलको फेसबुक वालको स्कृन सर्ट हो । उहाँले लेख्नुभएको छ ुचिन भ्रमण पश्चात पूर्वराष्ट्रपतिज्यूसंगको भेटघाटु । रह्स्व दीर्घलाई वास्ता नगरि हेर्ने हो भने उहाँले लेखेको शब्दको प्रष्ट सन्देश हो चीन अब एमालेमा विद्या भण्डारीलाई ल्याउन चाहन्छ । पोखरेल हत्तपत्त विद्याका पक्षमा खुल्ने नेता होइनन् ।

दशौं महाधिवेशनमा अध्यक्ष ओलीले चाहेको, रोजेको वा छानेको महासचिव । अर्थात् टिके महासचिव । तर पछिल्लो समय पोखरेल विस्तारै ओली र विद्या दुबैसँग समानान्तर सम्बन्धको प्रयासमा हुनुहुन्छ भन्ने प्रमाण पनि हो यो, तस्विर । लुम्बिनी प्रदेश अधिवेशनबाट छचल्किएको बाछिटा पोखरेलको चीन भ्रमणसम्म आइपुग्दा प्रष्ट भइसकेको छ । उपाध्यक्ष विष्णु पौडेल विद्यालाई सक्रिय राजनीतिमा फर्काउने ध्याउन्नमा रहेको आरोप लागिरहँदा महासचिव पनि सोही बाटोमा देखिनु संयोग मात्रै होइन । मदन भण्डारी फाउण्डेशन मार्फत् सामाजिक काममा सक्रिय विद्या अब राजनीतिमा पुनस् स्पेसको खोजीमा हुनुहुन्छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा पनि एमाले पार्टीको आन्तरिक जीवनमा शक्तिशाली मानिनुहुन्थ्यो । नेकपा कालमा त शीतल निवासलाई पार्टी कार्यालय जस्तो बनाउन खोजेको आरोप नै व्यहोर्नुपर्यो । उहाँ निकट भनिएका नेताले पालै पालो संघका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म अवसर पाए । राष्ट्रपति रहँदा नै पार्टीभित्र सक्रियको आरोप लागेकी भण्डारी पुनः पार्टीमै फर्कने चर्चा महासचिवको पछिल्लो स्टाटसको भाषाले प्रमाणित गरिदिएको छ ।

चीन पनि विद्या भण्डारीलाई विश्वासिलो साथी मान्छ । राष्ट्रपति रहँदा विद्याले चिनियाँ महत्वकांक्षी योजना बीआरआईमात्र होइन, नेपाल–चीनबीचको हिमचिम बढाउने काम गर्नुभएको थियो । चीनको रणनीतिक योजना ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स जीएसआईमा भर्चुअल सहभागी भएर विद्याले चीनलाई महत्व दिनुभएको थियो ।

त्यही भएरपनि विश्वासिलो शक्तिकारुपमा विद्यालाई चीनले नेपालकै कम्युनिष्ट पार्टीको नेता बनाउँन चाहन्छ । एमालेसँगै माओवादी र एकीकृत समाजवादीसम्मले मान्ने र पत्याउने नेता विद्या मात्रै भएको चिनियाँ ठहर हुनसक्छ । राष्ट्रपतिबाट विदा भएपछि हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा उहाँले राजनीतिमा आउने र नआउने सम्भावना आधा आधा रहेको बताउनुले पनि त्यही संकेत गर्छ ।

एमालेको ७० वर्षे उमेरहदको व्यवस्था हटाउनुको अर्थ ओली अनन्तकालसम्म अध्यक्ष । यो प्रावधानपछि कतिपयले विद्याका लागि एमालेमा पुनरागनको ढोका बन्द भएको ठानेका छन् । त्यसो त विद्याले एमालेमा फर्कँने छनक दिएपछि ओलीलाई झस्का परेको जगजाहेर नै छ ।

ओलीले सायद ट्रायल गर्नुभएको थियो । तर अनुकुल देखिएन । अनि भदौ १० गते कोशी प्रदेश कमिटीको बैठकमा भन्नुभयो विद्यालाई वेलकम छ । रोक्न हुन्न, रोक्न दिइन्न । एमालेभित्र माधव नेपाल र झलनाथ खनालको दबदवा हुँदा ओलीको बलियो सारथीका रुमपा विद्याको सक्रियता भुल्न मिल्दैन । ओली गुटको मूल व्यवस्थापक नै विद्यालाई मानिन्थ्यो । अहिले पार्टीभित्र बहुपदीय संरचनाबीच एकल नेतृत्व कायम गरेका ओली भावी नेतृत्वमा आफ्नै निरन्तरतामा ढुक्क देखिनुहुन्छ । तर विद्या वाणले उहाँलाई सताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array