एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा महासचिव पदका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी अध्यक्ष भैसकेको  व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको जनाएका छन् । उनले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

जापानमा रहेका गैर आवासीय नेपालीहरुसँग अन्तरक्रिया र भेटघाट गर्न टोकियो पुगेका उनले एनआरएनएमा काम गर्न सरकारी कर्मचारी जस्तो फाइल बढुवा आवश्यक नभएकाले क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्नुपर्ने बताए ।

भेटघाटकै सिलसिलामा स्थानीय नेपालन्यूजपोष्टसँगको अन्तरवार्ताका क्रममा उनले जसले जुन पदमा काम गर्न सक्छ उसले त्यही पदमा दावी गर्न पाउनु अधिकार भएको बताए । उनले भने,‘जसरी एनआरएन अमेरिकाको एनसीसी अध्यक्ष भएर इतिहास राखेको छु । त्यस्तै आइसीसी महासचिव भएर इतिहास बनाउनेछु ।’ महासचिवको काम सचिवालय मजवुत बनाउने, संघका प्रमुख मुद्दाहरु कार्यन्वयन गराउने र अध्यक्षले ल्याएका प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउने भएकाले महासचिव पदमा विजयी भएमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले भने,‘एनसीसीहरुलाई स्वायत्त बनाउने मेरो पहिलो प्रयास हुनेछ । टप टू बटम होइन, बटम टू टप काम गर्नुपर्छ । संस्थालाई दलीय राजनीतिबाट मुक्त राख्नुछ । संस्थाको गरिमा र इतिहासलाई जोगाउनुपर्ने अवस्था आएकाले राजनीतिमुक्त संस्था बनाउने मेरो दृढता छ,’उनले अगाडि भने,‘इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न डेलिगेट्सहरुसँग मेरो आग्रह छ ।’

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक समेत रहेका सुवेदीले कुनै समय एनआरएनए अमेरिका झोलामा सिमित रहेको उल्लेख गर्दै अहिले भब्य भवनमा स्थापित गरेर इतिहास लेखेको उल्लेख गरे । उनले भने,‘हजारौं गैर आवासीय नेपालीहरु साक्षी हुनुहुन्छ । अमेरिकाको एनआरएनए कस्तो थियो, आज कस्तो भयो । यसका लागि मैले सबै साथीहरुको सहयोग जुटा उन सफल भएको थिएँ ।’

आफू कुरा होइन काम गर्ने व्यक्ति भएकाले महासचिवमा दावी गरेको प्रष्ट्याउँदै उनले भने,‘आइसीसीको महासचिव र अध्यक्ष पदमा कसैलेपनि दोहोर्याउन हुँदैन । नयाँ आउनेहरुलाई काम गर्ने अवसर दिनुपर्छ । सोही पदमा दोहोर्याएर शंकाको अवस्था सिर्जना गर्नहुँदैन ।’ उनले सक्षम, दक्ष, अनुभवी र संस्थालाई समय दिनसक्ने व्यक्तिलाई एनआरएनएको महत्वपूर्ण पदमा विजयी गराउन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

Array