दशैका लागि असोज तेस्रो साताबाट अग्रिम टिकट बुकिङ खुल्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

दसैँ, तिहार र छठ पर्वमा हुने यात्रुको चापलाई लक्षित गरेर असोज तेस्रो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । चाडपर्वलक्षित गरेर असोज तेस्रो साताबाट गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।

दसैँ, तिहार तथा छठका वेलामा अन्य समयको तुलनामा आवतजावत बढी हुने गर्छ । दसैँ मनाउनका लागि मात्रै घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक सरदर पाँच हजार सवारीसाधन र एक लाख मानिस बाहिरिने गर्छन । सरकारले चाडपर्वलक्षित गरेर सडक पूर्वाधार सुधारदेखि यातायात व्यवस्थापनको तयारी सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न शुक्रबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।

उक्त कार्यदलले आवश्यक अध्ययन गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने, सडक पूर्वाधारको अवस्था र सुधार गर्ने, चाडपर्वमा हुने यातायातलाई सहज बनाउनेलगायत विषयमा आवश्यक काम गर्नेछ । उक्त कार्यदलले एक साताभित्र मन्त्रालयले प्रतिवेदन बुझाउनेछ, सोही आधारमा यसबारे निर्णय गरिनेछ ।

विभागका महानिर्देशक रिजालले असोजको तेस्रो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको बताए । ‘दसैँको यात्रालाई सहज, सरल र सुरक्षित बनाउने विषयमा शुक्रबार मेरो संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यो कार्यदलले आइतबारदेखि नै काम सुरु गर्छ । र, सोही कार्यदलले गरेको अध्ययनका आधारमा दसैँलगायतका पर्वको यातायातलाई सहज बनाउने विषयमा उचित निर्णय गरिनेछ,’ उनले भने, ‘अहिले मोटामोटी घटस्थापना (२८ असोज)को १० दिनअघि (१८ असोज–तेस्रो साता)बाट अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको छ । यद्यपि, यातायात व्यवसायी, नेपाल प्रहरीलगायतका सरोकारवालासँग थप छलफल गरेर यसलाई टुंगोमा पुर्‍याउनेछौँ ।’

केन्द्रबाट काठमाडौं उपत्यकाबाट बाहिरिने र बाहिरका जिल्लाबाट उपत्यका आउने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । अन्तरप्रदेश, प्रदेश राजधानी तथा जिल्लास्तरको टिकट बुकिङ खुला गर्ने कार्य भने प्रदेशस्तरीय निकायले गर्ने बताइएको छ । यता व्यवसायीले भने सवारीसाधनको भाडादर बढाउनुपर्ने माग गरेका छन् । गत चैतदेखि सार्वजनिक यातायातको भाडादर समायोजन भएको छैन । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएको र सडक पनि गुणस्तरीय नभएको कारण देखाउँदै उनीहरूले भाडावृद्धिको माग गरेका हुन् । सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गर्नुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array