आजको परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका छ  मोहन वैद्य ‘किरण’, अध्यक्ष– क्रान्तिकारी कम्युनिस्ट पार्टी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
6 Min Read
Aa

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा भएको सम्पूर्ण परिवर्तन महान् जनयुद्ध र क्रान्तिकारी कम्युनिस्ट पार्टीका कारण सम्भव भएको बताएका छन् । अब हुने परिवर्तन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमै सम्भव हुने र अरूबाट नहुने पनि उनले बताए ।

खेम थपिलयाको ‘कम्युनिस्ट पार्टी सङ्गठन’ पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका पार्टी अध्यक्ष किरणले कम्युनिस्ट पार्टी र सङ्गठनहरू धेरै भए भनेर कोही पनि आत्तिनु नपर्ने, दर्शन, सिद्धान्त, विचार र राजनीति मिल्ने क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता र ध्रुवीकरण भएर क्रान्तिका कार्यभार पूरा गर्ने विश्वास पनि व्यक्त गरे । जनयुद्धबाट अपेक्षा गरिएको गुणात्मक परिवर्तन हुन नसकेको र त्यो क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने क्रान्तिले पूरा गर्ने पनि नेता किरणले बताए ।

क्रान्ति र परिवर्तनमा जनसङ्गठनहरूको महत्व दर्साउँदै अध्यक्ष किरणले गौतम बुद्धको ‘सङ्गम शरणम् गच्छामी’ देखि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका पार्टी सङ्गठन निर्माण र परिचालनसम्बन्धी उदाहरणहरू प्रस्तुत गरे । उनले भने, ‘रूपान्तरण गर्नु सङ्गठनको काम हो । माओले पनि क्रान्तिका तीन जादुगरी हतियारको चर्चा गर्दा सङ्गठनलाई जोड दिनुभएको छ । कम्युनिस्ट पार्टी र सङ्गठन धेरै भए भनेर चिन्ता गर्नु आवश्यक छैन । सच्चा कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्ने हो ।’

क्रान्ति गर्ने र चुनाव गर्ने पार्टी एकताका दुई लक्ष्य हुने प्रस्ट पार्दै अध्यक्ष किरणले क्रान्ति पनि नगर्ने, चुनावमा पनि नजाने भए जति पार्टी बनाए पनि कुनै अर्थ नहुने बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्ति सम्पन्न गर्न निर्माण भएकाले रूपान्तरित हुन नसकेकाहरू रूपान्तरित भएर यसमा गोलबन्द हुनुपर्ने उनले बताए । संसदीय व्यवस्थाले नेपाली जनतालाई निराश, गरिब बनाएको र जनताका विचार र भावनालाई कुल्चिएकाले यसलाई उखेलेर फाल्नुपर्ने उनको भनाइ थियो । संसद्वादी पार्टीहरू कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष किरणले संसद्वादी काङ्ग्रेस, एमाले, माकेहरू मिलेर एउटै पार्टी बनाए फरक नपर्ने पनि प्रस्ट पारे । त्यसपछि एमाले, माकेलगायत संसद्वादी पार्टीहरूमा रहेका क्रान्तिकारीहरू पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने उनले बताए । कोही पनि निराश बन्नु नहुने र क्रान्ति सम्पन्न हुने कुरामा सबै आशावादी, साहसी र निर्भीक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज सुदर्शनले कम्युनिस्ट भनेकै निजी सम्पत्ति÷स्वामित्वको अन्त्य रहेको तर यहाँ सामूहिकतालाई निषेध गरेर निजी स्वामित्व÷सम्पत्ति कसरी बढाउने भन्ने उल्टो काम गर्नेहरूले नै आफूलाई कम्युनिस्ट भनेर बदनाम गरिरहेको बताए । कम्युनिस्ट घोषणापत्रमा कार्ल माक्र्स÷एङ्गेल्सले निजी स्वामित्व अन्त्य नभएसम्म कम्युनिस्ट नहुने÷नबन्ने घोषणा गरे पनि नेपालका कम्युनिस्ट पार्टीमा त्यसको कुनै अभ्यास नभएको तीक्ष्ण टिप्पणी पनि गरे । कम्युनिस्ट शब्द मात्र नभएर आचरण र व्यवहार पनि हो भन्दै नेता सुदर्शनले कम्युनिस्ट पार्टीका सदस्यले मेरो भन्न छाडेर हाम्रो भन्न र त्यसैअनुसारको कर्म गर्नुपर्नेमा निजी स्वार्थ र सम्पत्तिमा लिप्त भएर कम्युनिस्ट शब्दकै बदनाम गराइरहेको बताए ।

कम्युनिस्ट पार्टीका सदस्यहरूले आफ्नै परिवारका सदस्यहरूलाई कम्युनिस्ट पार्टीको सदस्य बनाएपछि मात्र वैज्ञानिक समाजवाद आउने पनि उनले प्रस्ट पारे । आफू जेल बस्दा कम्युनिस्ट पार्टी निर्माण गर्न गरेको सङ्घर्ष र उपलब्धिको चर्चा गर्दै उनले समाजमा कम्युनिस्ट विकल्प खडा गर्नुपर्ने धारणा पनि राखे । आफू भौतिकवाद अध्ययन गरेको भन्ने, अरूलाई भौतिकवासम्बन्धी पाठ्यक्रम पढाइ पनि टोपल्ने तर आमाबाबु मर्दा कपाल मुण्डन गरेर सेतो धोती लगाउँदै किरियाकर्म गर्ने पाखण्डका कारण सच्चा कम्युनिस्ट निर्माण हुन समय लागेको नेता सुदर्शनको भनाइ थियो । कम्युनिस्टहरू सांस्कृतिक, आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा सच्चरित्र र नैतिकवान् बन्नुपर्ने उनले बताए । उनले भने, ‘सबै पाखण्ड र व्यभिचार त्यागेर आजैदेखि कम्युनिस्ट बन्न सुरु गरौँ । कम्युनिस्ट बन्न नसक्नेहरू कम्युनिस्ट पार्टीमा नबसौँ । त्यस्ताले जवस÷मोर्चाहरूमा बस्दा हुन्छ । कम्युनिस्ट पार्टीलाई साम्यवादको अभ्यास गर्ने थलो बनाऔँ ।’

दुनियाँका छोराछोरीलाई कम्युनिस्ट विचार पढाउने तर आफ्ना छोराछोरीलाई कसरी बचाउने, कसरी विदेश (अमेरिका) पठाउने भन्नेतिर लाग्ने कुरा ढोङ र पाखण्ड मात्र रहेको नेता सुदर्शनले बताए । किताबका लेखक स्वयम्ले पनि किताबमा लेखिएका कुरा र कम्युनिस्ट पार्टीका नियम पालना गर्नुपर्नेमा सुदर्शनको जोड थियो । उनले भने, ‘लेख्नका लागि मात्र, अरूका लागि देखाउन मात्र वा सुनाउन मात्र लेख्ने होइन, आफैँले जीवनव्यवहार बनाउनका लागि लेख्नुपर्छ । यो सबैका लागि लागू हुन्छ ।’

क्रान्तिकारीले ढाँट्ने, छल्ने, अनैतिक र पाखण्डी कर्म नगर्ने उदाहरणहरू प्रस्तुत गर्दै नेता सुदर्शनले पार्टी र जनतालाई ढाँट्ने, आफूसँग भएर पनि छैन भनेर लुकाउने, ठग्ने, आवश्यकताभन्दा बढी लोभ गर्ने, आफूसँग भएको सम्पत्ति क्रान्तिमा प्रयोग नगर्ने, अरूले मात्र लगानी गरिदेओस् भन्ने प्रवृत्ति कम्युनिस्ट विचार र चिन्तनका विरुद्ध रहेकाले कम्युनिस्टहरूले सच्चरित्र, नैतिकवान र इमानदार बनेर निरन्तर रूपान्तरित भइरहनुपर्ने उनको भनाइ थियो ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्टहरू सिद्धान्त, विचार र आदर्शबाट च्यूत हुँदै गएको स्वीकार गरिन् । कम्युनिस्ट पार्टीभित्र जवस, मोर्चा र सङ्गठनहरू अत्यावश्यक रहेकोमा जोड दिँदै शाक्यले वैकल्पिक नेतृत्वमा युवाहरूलाई ल्याउनुपर्ने धारणा राखिन् । कम्युनिस्ट पार्टीभित्र कामको मूल्याङ्कनपद्धतिमा ह्रास आउँदै गएको र विधिमा विकास नहुँदा जनसङ्गठनहरू अस्तव्यस्त भएको अनुभव सुाउँदै एमालेनेत्री शाक्यले जनसङ्गठनहरूको आवश्यकता कहिल्यै पनि कम नहुने र बरु बढ्दै जाने बताइन् ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कम्युनिस्ट पार्टी सङ्गठनमा लागेका नेता–कार्यकर्ताहरूले गरेको बदनामीको सन्दर्भ कोट्ट्याउँदै विचार र सिद्धान्तलाई केन्द्रमा राखेर एकता नहुँदा विशृङ्खलता बढेको बताए ।

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले सङ्गठन, विचार, सिद्धान्त, दर्शन, पार्टी वा व्यक्ति समस्या कहाँ छ भन्ने स्पष्ट हुनुपर्ने बताए । कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै डा. केसीले जनयुद्धका नायकहरू नै पतन भएको अवस्थामा आन्दोलनका समस्याहरू चिनेर अघि बढ्नु राम्रो हुने बताए ।

पुस्तकका लेखक थपलियाले भने कम्युनिस्ट पार्टीमा नयाँ विधि र पद्धति खोज्नुपर्ने र जवस÷मोर्चा राख्नु नहुने बताएका थिए । स्वाभिमान प्रकाशन गृह प्रालिका सञ्चालक भीम चापागाईंले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीकी नेत्री एवम् पत्रकार अम्बिका चन्दले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array