सोनापुर सिमेन्टको ‘बहिष्कृत आईपीओ’ अब सर्वसाधारणलाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ आश्विन २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेको सोनापुर सिमेन्टको आईपीओ अब सर्वसाधारणले खरिद गर्नुपर्ने भएको छ । स्थानीयद्वारा बाहिष्कृत १४ लाख ४६ हजार ४ सय ९५ कित्ता थप गरी सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणका निम्ति ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीको वित्तीय अवस्था कमजोर, वित्तीय विवरण शंकास्पद, राजस्व छलीमा संंलग्न, स्थानयीसँगको विवाद, करोडौं विद्युत् महसुल बक्यौताजस्ता काण्डमा मुछिएपछि स्थानीयले कम्पनीको सेयर बहिष्कार गरेका थिए । कम्पनीले स्थानीयका लागि १५ लाख ३७ हजार ५ सय २९ कित्ता सेयर बिक्री खुलाएको भए पनि ९१ हजार ३० कित्ता मात्रै बिक्री भएको थियो । पटक–पटक म्याद थप गर्दा पनि बिक्री नभएकाले अब सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

कम्पनीले आईपीओका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रिपल बी माइनस इस्युआर’ रेटिङ दिएको छ । यसको अर्थ कम्पनीसँग दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।कम्पनीमा लगानी गर्नु जोखिम रहेको संकेतसँगै शंकास्पद वित्तीय विवरण र कम्पनी आफैंमा विभिन्न काण्डमा मुछिएकाले सर्वसाधारण लगानी गर्न हच्किएका हुन् । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी प्रतिकित्ता ७ रुपियाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपियाँ ८१ पैसा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निष्कासन गर्ने उद्देश्यले आव २०७६÷७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको देखिन्छ । त्यसपछिका तीनवटा आर्थिक वर्षमा ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर कम्पनीले नाफामा गएको देखाइएको हो । तर, वास्तविकता भने कम्पनी नोक्सानमा छ । जसका कारण पछिल्लो तीन वर्षदेखि कम्पनीका लगानीकर्ताले नाफासमेत बुझ्न पाएका छैनन् । सर्वसाधारणलाई सय रुपियाँ अंकित मूल्यमा १ सय ३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर सेयर बिक्री गरेको पैसाले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने कम्पनीको विवरणमा उल्लेख छ ।

त्यसबाहेक ७५ करोड रुपियाँ विद्युत् महसुल बक्यौता रहेको छ । त्यस्तै, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली तथा भ्रष्टाचारसम्बन्धी कम्पनीका सञ्चालकमाथि मुद्दा रहेको छ । त्यस्तै, रोल्पाको रन्टीगढीमा खानी विभागका कर्मचारीसँगको मिलेमतोमा अनुमति लिएको भन्दा बढी चुनढुंगा उत्खनन गरेको भेटिएपछि ६ करोड ९९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुन्धान आयोगले गत माघ महिनामा उद्योगका प्रबन्ध निर्देशक निपेश तायलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कम्पनी र सञ्चालकमाथि लागेका आरोप र वित्तीय विवरणको स्पष्टताबारेमा नेपाल समाचारपत्रले कम्पनीका प्रबन्ध निर्देशक निपेश तायलसँग कयौंपटक सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन । उता, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बजारमा आएका सबै आईपीओ आँखा चिम्लिएर खरिद गर्न नहुने कुरा सार्वजनिक रूपमै बताउँदै आउनुभएको छ । कम्पनीको वित्तीय सूचकहरू अध्ययन गरेर मात्रै सेयर खरिद गर्न उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

Array