चाडपर्वलक्षित सुपथ पसल, असोज तेस्रो सातादेखि सञ्चालन हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौँ, असोज ८ गते  । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ ।

दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुुभयो । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उहाँको भनाइ छ । मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ ।

मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ ।

गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन उपत्यकासँगै बाहिरी जिल्लाहरूमा सुपथ पसल सञ्चालन गरिने छ । सरकारी स्वामित्वमा सञ्चालित संस्थानले सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट्र टे«डिङ कर्पोरेसनले छुटमा खाद्यान्न वितरण गर्ने छन् ।

मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमार्फत सुपथ पसल सञ्चालन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुई करोड ३२ लाख २० हजार र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन  हुने गर्छ । दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी संस्थानमार्फत सुपथ मूल्यका पसल सञ्चालन हुने गर्दछन् ।

चाडपर्वको उपभोक्तालाई छुट दिएको रकम मन्त्रालयले शोधभर्नाबापत कम्पनी र कर्पोरेसनलाई उपलब्ध गराउने गर्छ । उपत्यका विभिन्न ठाउँमा सुपथ पसल सञ्चालन गरिने छ । उपत्यका बाहिरी जिल्लामा संस्थानका कार्यालयमार्फत सुपथ मूल्यमा खाद्यान्न वितरण गरिने भएको छ ।

बजारमा चिनीको मूल्य अत्यधिक बढेको छ । प्रतिकेजी एक सय रुपियाँ रहेको चिनीको मूल्य किलोमा ५० रुपियाँसम्मले बढ्दा त्यसको मारमा उपभोक्ता परेका हुन् । निजी व्यवसायीले कृत्रिम अभाव देखाएर चिनीमा अस्वाभाविक मूल्य बढाउँदा चाडपर्वका बेला उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array