अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं,   उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 पर्सा, जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् । सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।    सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array