प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूले दत्तचित्त भई कार्य सम्पादन गर्नुपर्ने – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
3 Min Read
Aa

मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगरको बिग होटलमा सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजिकरण गर्दै विकास निर्माणलाई गति दिन र सु(शासन कायम गर्न सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा। दिपक काफ्लेले प्रदेशको सुरक्षा व्यवस्थामा सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वय भइरहेको साथै चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताउनुभयो । खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले समेत सुरक्षा सम्बन्धी आ(आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ(आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो भने पहाडी ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले भर्चुअल माध्यमद्वारा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array