संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालको छैठौं अधिवेशन अवैधानिक रहेको पदाधिकारीहरुको आरोप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका पदाधिकारीहरुले संस्थाको छैठौं महाविधेशन वैधानिक नरहेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आज भइरहेको महाधिवेशन अवैधानिक रहेको बताएका हुन् ।  संगठनका महासचिव तिलबहादुर उप्रेती केसीले आफूहरुलाई जानकारीनै नदिई महाधिवेशन गराएको बताए । उनले अध्यक्ष पूर्व कर्नेल धनबहादुर थापाले संस्थाको बैठकनै नराखेको, बैठकको पुस्तिका कार्यालयमा नराखी गायब बनाएको, संस्थाका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र पदाधिकारीलाईसमेत जानकारी नदिई महाधिवेशन सञ्चालन गरेको आरोप लगाए । आफूहरुले अधिवेशन स्थगित गरी बैठक बसौंभन्दा धम्कीपूर्ण शब्द प्रयोग गरेको समेत उनले आरोप लगाए ।
संगठनको विधानले संस्थालाई राजनीतिक मुक्त र विशुद्ध सेवा भावले प्रेरित हुन पर्ने व्यवस्था गरेपनि अध्यक्ष स्वयमले जय जन्मभूमि पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराई राजनीतिमा गरेको उनीहरुको आरोप छ ।
अहिलेको महाधिवेशनमा वैधानिकता नरहेको, अध्यक्ष थापाको इट्रेस्ट र उनको पछि लाग्ने दुई चार जनाले गरेको अधिवेशन भएकाले यसलाई आफूहरुले नस्वीकार्ने महासचिव उप्रेतीले बताए ।
अध्यक्ष थापामाथि आफूखुसीले पदाधिकारी वा सदस्यको राजीनामा स्वीकृत वा बर्खास्त गर्ने गरेको समेत आरोप छ ।
अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघ केन्द्रीयका अध्यक्ष भेषशंकर पुरीले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका अध्यक्ष धनबहादुर थापाले विधि र विधान नमानेर मनोमानी ढंगले काम गरेको अरोप लगाए ।
आफ्नो संस्था संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट अलग भएको पनि उनले बताए । उनले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट आफ्नो संस्था अलग भएको जानकारीका लागि पत्रसमेत हिजो नै पठाइएको उनले बताए । अध्यक्ष थापाले संस्थाको आर्थिक हिनामिना गरेको समेत आरोप लगाएका छन् ।
नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले आफू यो संस्थामा आवद्ध नभएको स्पष्ट पारे । यो संगठन क देखि ज्ञ सम्म भारतीय दुतावासको आदेशमा चल्ने गरेको उनको आरोप छ । कर्नेल थापाले नेतृत्व गरेको संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका गतिविधि र कार्यक्र नेपाल विरोधी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array