पाइलट पढ्नका तीनै तहको सरकारबाट सहयोग नपाएपछि दिपेन्द्रले सुरु गरे एक रुपैयाँ संकलन अभियान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, १३ असोज । गरिबीका कारण पाइलट अध्ययन गर्न नपाएका दिपेन्द्र घिसिङ तामाङले अध्ययनका लागि एक रुपैयाँ संकलन अभियान सञ्चालन गरेका छन् । उनले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियान सुरु भएको जानकारी गराएका हुन् ।
दोलखा जिल्ला बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिावक विहीन विद्यार्थी हुन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावकै कारणले रोकिने अवस्था आएको उनले बताए ।
समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कहिँ कतैबाट सुनुवाइ हुन नसकेको उनले बताए ।
एमबिबिएस पढ्ने विद्यार्थीलाई स्थानीय तहदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भएपनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको उनको भनाई छ । सरकारले सहयोग नगरेको खण्डमा एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने उनले बताए ।
‘मेरो बाल्यकालदेखिको सपना भनेको पाइलट बन्ने थियो । मैले विभिन्न दल एमाले, कांग्रेस र नयाँ दल भनिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि भेट्दै गएँ । मलाई नेताहरुले आश्वासनमात्रै दिनुभयो,’– उनले भने ।
आफ्नो गुनासो लिएर अर्थमन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालयलेसम्म धाउँदा पनि केही विकल्प नपाएकाले पाईलट अध्ययनका लागि एक रुपैयाँ संकलन अभियान सुरु गर्न परेको बताए । उनले प्रदेश सरकारमा आफूले गुनासो सुनाउँदा विदेश जाने सल्लाह दिएको समेत बताए ।
‘एक रुपैयाँ अभियान चलाउनु मेरो रहर होईन । मेरो एकमात्रै रहर भनेको पाइलट बन्नु हो । पाइलट किन भन्दाखेरी मलाई धेरैले तिमीजस्तो गरिब मान्छेले यस्तो सपना बोक्नु गलत हो भनेर भन्दैगर्दा मेरो मनमा गरिब विद्यार्थीले पाइलट बन्न नसक्ने हो ? भन्ने लाग्यो ।’ उनले भने, ‘म एक रुपैयाँ अभियानबाट पनि पाइलट बन्छु भन्ने लागेको छ । यो अभियानबाट भोलिका दिनमा पढ्न चाहेर पनि पैसा नभएकालाई सहयोग हुनेछ ।’
एक रुपैयाँ अभियानमा सहभागी हुन चाहनेहरुका लागि छिट्टैनै यसको माध्यम सार्वजनिक गरिने उनले बताए । पाईलट पढ्नका लागि करिब ८० लाख रुपैयाँ लाग्ने उनको भनाई छ । पाइलट पढिसकेर सेवामा आएपछि आफूले सहयोग पाए बराबरको रकम सामाजिक सेवामा खर्चिने पनि उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

Array