आफूमाथि निर्घात कुटपिट भएको वर्षौ बित्दापनि न्याय नपाएको भन्दै गायिका बुनु उप्रेती मिडियामा, अहिलेपनि बाटोमा हिँड्नसक्ने अवस्था नरहेको भन्दै सुरक्षाको प्रत्याभुति गरिदिन अपिल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौं,  गत वर्षको कार्तिक २७ गते ललितपुरको लुभुमा छिमेकीहरुको आक्रमणमा परेकी गायिका बुनु उप्रेतीले अझैपनि आफूले न्याय नपाएको भनेर गुनासो पोखेकी छिन् । उनले आफूमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको एक वर्ष पुग्न लाग्दापनि पीडकहरुलाई कारबाही नभएको गुनासो पोखेकी हुन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका उप्रेतीले देशमा कानूनी राज्य भए आफूलाई न्याय दिन सरकारसमक्ष अपिल गरेकी हुन् । पत्रकार सम्मेलनको क्रममा उनले भनिन्–‘मैले पटक पटक छिमेकी महिलाहरुबाट यातना सहनुपरेको छ । ममाथि घरभित्रै पसेर आक्रमण भयो । घाँटीमा आक्रमण भयो । शरिरका अंग अंगमा आक्रमण भयो । ममाथि दुव्र्यवहार भएको त पाँच वर्ष भयो । गत वर्ष त ज्यान मार्ने उद्येश्यले ममाथि आक्रमण भयो । मैले अहिलेसम्म न्याय पाएकी छैन् । प्रशासन, अड्डा अदालतसम्म रुँदै कराउँदै धाएँ । आज पाँच वर्ष हुँदापनि मैले न्याय पाएको छैन् । विपक्षीहरुको चाहीँ आत्मबल बढेको छ।’
जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा पनि आफूमाथि कुटपिट भएको उनको भनाई छ । उनले भने,‘फेरि आँफै उहाँहरु १८ जनाले ममाथि मुद्दा हाल्नुभयो । मेरो मुद्दा जिल्ला अदालत ललितपुरमा चलिरहेको छ । मैले आक्रमण हुँदाको फुटेज पनि प्रहरीसँग मागेको थिएँ । मार्टभित्र सामान किनेको बेलामा म माथि आक्रमण भयो । लुभु चौकीले फुटेज उपलब्ध गराउने भनेको थियो । तर, पछि दिएन ।’
उनले आफूमाथि आक्रमण गर्नेहरु (विपक्षी)हरु संगठित रुपमा अघि बढेको आरोप लगाईन् । उनले भनिन्–‘गत वर्ष कार्तिक २७ गते मेरो घरको कम्पाउण्डभित्र पसेर सपना श्रेष्ठले एट्याग गर्नुभयो । मलाई धेरै नै कुटियो । म बेहोस थिएँ । मैले होस आउँदा भिडिओ खिच भनेर छोरीलाई भनेको थिएँ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने चाहना थियो । सातदोबाटो प्रहरी वृत्तमा मैले कार्तिक १० गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थिएँ । प्रहरीले आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने आश्वासन दिएको थियो । मैले त न्याय पाउँछु भन्ने ठानेकी थिएँ । तर, प्रहरीले अभद्र मुद्दामा दर्ता गर्ने भन्नुभयो ।’
उनले आफू आवाज उठाउनसक्ने योग्य महिला हुँदापनि प्रशासनबाट न्याय नपाएको भन्दै अरुको हालत के होला ? भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्,‘म बुनु उप्रेती, आवाज उठाउनसक्ने केटी हुँ । ताप्लेजुङको तमोर खोलाको पानी खाएकी केटी हुँ । झापादेखि काठमाडौंसम्म आएर आँफै करियर बनाएकी केटी हुँ । मैले न्याय पाउन सकिनँ । तर, म न्यायको लागि लडिरहन्छु।’
उनले आफू र परिवारका सदस्यहरु (खासगरी दुई छोरी) अहिलेपनि असुरक्षित रहेको बाटोमा हिँड्नसक्ने अवस्था नभएको सुनाईन् । उनले भनिन्–‘प्रहरी, प्रशासनले पनि पीडितको पक्षमा वकालत गर्ने हो नि । कानूनी राज्यले अपराधीलाई बचाउने होईन । पावर र पैसाको भरमा, वकिल अड्डा अदालतका कर्मचारीहरुलाई किनेको पाईएमा उनीहरु पनि कारबाहीको भागिदार हुनुपर्छ । मैले न्याय पाउनुपर्छ ।’ उनले अहिलेसम्म आफू ५÷७ पटकसम्म कुटिइएको दाबी गरिन् ।
गत वर्ष ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको र लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी थिईन् । उप्रेतीको घर अगाडिको बाटो र फोहोर फाल्ने विषयमा उप्रेती र छिमेकी महिलाहरुको समूहबीच लामो समयदेखि विवाद रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array