नेपालबाट यस वर्षको मनसुन कहिले बाहिरिन्छ ? यसो भन्छन मौसमबिद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ ।

पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको उहाँले जानकारी दिनुभयो । उहाँले मनसुन बाहिरिने मिति नजिकै रहेकाले एकै दिनमा मौसम बदली भएर बाहिरिने अवस्था आउन सक्ने सम्भावना प्रबल रहने औँल्याउनुभयो ।

महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनेको हो । जसले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । जसले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलामा जल सतह केही बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन भनिएको छ । त्यस्तै खेतीबाली भित्र्याउने बेला पनि भएकाले केही दिनका लागि नभित्र्याउन र खेतबारीमा जमेका पानी हटाउने उपाय अवलम्बन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array