पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ आश्विन २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौँ,  पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा र कोषका विसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। तत्कालीन सदस्यसचिव ढकालसहित तीन जनाले एक करोड १७ लाख एक हजार ७२१ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। जलहरी राख्ने क्रममा उनीहरूले १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम अनियमितता गरेको अख्तियारको ठहर छ ।

राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनमध्ये शुद्ध सुन १०२,६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुनको शुद्ध सुनमध्ये १००,०८५.९ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुनको शुद्ध सुन ९६२.६ ग्रामसमेत गरी जम्मा तौल सुन १०७,४७०.० ग्राममा शुद्ध सुन १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएको अख्तियारको ठम्याइ छ।

नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्ध सुन १०२,६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत शुद्ध सुन १०१,०४८.५ ग्राम सुन घटाउँदा १,५६५.६ ग्राम सुनको परिमाणमा अन्तर (फरक) देखिएकाले उक्त अन्तर देखिएकोमा नेपाल राष्ट्र बैङ्कले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०.०७२५ ले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १,४९१.७१८ ग्राम (एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम) सुन हिनामिना भएको अख्तियारको दाबी छ।

तोकिएको सर्त र निर्णयबमोजिम सुनको जलहरी नबनाएको र निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरिएको अख्तियारको दाबी छ।

त्यस बेलाको मूल्य अनुसार सात करोड ८६ लाख ४६ हजार रुपियाँ बराबरको बाँकी १० केजी ९७६ ग्राम सुन रिङ बनाई चढाइएको जिकिर कोषले ग¥यो। त्यसपछि खोजबिन गर्दा रिङ राखिएको नभेटिएको आयोगको दाबी छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गर्नुभएको थियो। उहाँले जलहरी राख्ने घोषणा गरेको एक महिनापछि २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेर सुनको जलहरी राख्नुभएको थियो। उति बेला कम्युनिस्ट विचारधाराका प्रधानमन्त्रीले पशुपतिमा सुनको जलहरी राख्न नहुने भन्दै विरोधसमेत भएको थियो। पछि पशुपतिको जलहरीमा अनियमितताको विषय संसद्मा उठ्न थालेपछि अख्तियारले छानबिन थालेको हो।

Gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array