शाही युवा शक्ति नेपाल अध्यक्ष खड्काद्वारा नारायणहिटीको श्रीपेच खोसेर राजालाई लगाईदिने उद्घोष

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ आश्विन २०८०, सोमबार
5 Min Read
Aa

काठमाडौं, शाही युवा शक्ति नेपालले राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने बताईएको हो । उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ ।
शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताए । राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिन अघि भक्तपुर जाँदा ५० हजारभन्दा धेरैले स्वागत गरेको उनको दाबी छ ।
राजा र राजसंस्था स्थापित गर्न जतना सडकमा आउन पर्ने उनले बताए । अहिलेको सरकार जनता सडकमा आउने हुन् कि भनेर डराइरहेको उनले बताए । राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको उनले बताए ।
राजा र राजसंस्थाबिना जनताहरु टुहुरो बनेको उनको भनाई छ । जनताको नाममा राजाले राजगद्दी र राजसंस्था त्याग्न तयार भएपनि गणतन्त्रवादीहरुले वडा अध्यक्षसम्म त्याग्ने साहस देखाउन नसकेको उनले टिप्पणी गरे । नेकपा (एस) की सचिव रामकुमारी झाँक्रीले मन्त्री पद त्याग्दा रोएको प्रसंग उल्लेख गर्दै उनले यो व्यवस्थालाई चाँडो दाहसंस्कार गर्नपर्ने बताए ।
‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने काम नगरौं ।’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो । मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’
जनताले हजारौं स्यालभन्दा एउटै सिंह (राजा) चाहियो भनिरहेको उनको बुझाइ छ । राजा चाहियो भन्ने जनताहरु अब सडकमा आउन आवश्यक रहेको उनले बताए । विना स्वार्थ राष्ट्रिय झण्डा बोकेर सडकमा आउन उनले आम नेपालीलाई आह्वान गरे । जनताको नाममा राजगद्दी र श्रीपेच त्याग गर्ने राजा विश्वमा कही पनि नरहेको बताउँदै उनले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्नपर्ने बताए ।
नेपालको राजसंस्था नेपाली जनताको भएको बताउँदै उनले राजा र राजसंस्था फर्काउने कर्तव्य नेपाली जनताको भएको बताए । गणतन्त्रवादीहरुले देशलाई संघीयतामा लगेर टाट पल्टाएको उनको अरोप छ । नेताहरुले विदेशीको पैसा खाएर गणतन्त्रको पक्ष पोषण गरिरहेको उनको आरोप छ । साथै, विदेशीको ऋणको भरमा गणतन्त्र र संघीयता टिकिरहेको उनको भनाई छ ।
गणतन्त्र स्वीकार गरेर बसिरहनु भनेको नेपाली जनताले आफ्नो घाटी आफैंले काट्नु भएको उनको भनाई छ । उनले गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्रीको भन्दा बालेन्द्र शाहको अस्तित्व बढि रहेको बताए । राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिक आयोगका पदाधिकारीलाई जनताले स्वीकार नगरेको उनको भनाई छ । नारायणहिटीमा रहेको श्रीपेच ज्ञानेन्द्र शाहलाई परि¥याउन नसकेसम्म देशमा समृद्धि नआउने उनको भनाई छ । अहिले धर्म निरपेक्षता र गणतन्त्रको नाममा अराजकता बढिरहेको उनको अरोप छ ।
‘धर्म निरपेक्षताको नाममा गाई काटिएको हेर्नुभन्दा, गणतन्त्रको नाममा देश बेचिएको हेर्नुभन्दा ज्ञानेन्द्र सरकारलाई हामीले चाँडोभन्दा चाँडो राजगद्दीमा पुनर्स्थापना गरौं । अनि बल्ल देश ट्रयाकमा हिड्छ । यो व्यवस्थाले जनता मारिरहेको छ,’– उनले भने ।
गणतन्त्र मान्ने पार्टी र व्यक्तिलाई उनले राष्ट्रघातीको संज्ञा दिए । आगामी असोज २० गते रत्नपार्कमा स्वतस्फूर्त राष्ट्रिय झण्डासहित उपस्थित हुन उनले सबै नेपालीलाई आग्रह गरे ।
‘अब आउने २० गते रत्नपार्कमा भेला होउँ । २०औं हजार मान्छे सहभागी होउन भन्ने मेरो अपेक्षा रहेको छ । त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेच जनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोग गरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’
शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य विश्वास भट्टले राजा राष्ट्र निर्माणका लागि अन्तिम र एकमात्रै विकल्प भएको बताए । उनले राजा प्रकृति भएको बताए । भविष्यमा आफ्नो संस्कृती र प्रकृतिको संरक्षका लागि पनि राजा आवश्यक रहेको उनको भनाई छ ।
त्यसैगरी अर्का वक्ता राजेश बोहराले अब शाही युवा शक्ति नेपालको संगठन स्कूल स्कूलबाट समेत सुरुवात गर्ने बताए । राजाविनाको देशमा संस्कृति, परम्परामा विचलन आएको उनको भनाई छ ।
शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य पूर्ण छन्त्यालले राजा ल्याउनका लागि संगठित भएर अगाडि बढ्न पर्ने आवश्यकता औंल्याए । देशलाई समृद्ध बनाउन आफूले लोभ गर्न नहुने उनले बताए । आफूहरु नेता बन्न भन्दा पनि देश बचाउनका लागि राजा संस्था स्थपित गर्नका लागिपरेको बताए ।
शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामसुन्दर कार्कीले पार्टीहरुलाई भोट हालेर ठीक ठाउँमा पुर्याउन नसकेको बताए । दलहरुकै कारण आज नेपालीहरु नाजुक अवस्थामा रहेको उनको भनाई छ । आफू २०४६ सालमा कम्युनिष्टको सदस्यता लिएकार त्यसपछि नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेको बताउने कार्कीले राजानै अन्तिम विकल्प हो भन्ने लागेर शाही युवा शक्ति नेपालमा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array