जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

नेपालगन्ज,  जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् । भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिएका हुन् । तत्काल आफूहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गर्न उहाँहरूले माग गरेका छन् । यता प्रशासनले भने गन्तव्य स्थलसम्म पुराउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकामा रोकिएर बसेका आठ सय बढी नेपाली नागरिकलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ । प्रहरीले फाट्टफुट्ट रूपमा बाहिर निस्किएकाहरुलाई सम्झाउँदै सहजीकरण गरेर पठाउने गरेको देखिन्छ ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array