‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं, नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।  आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष जयनन्द चन्दले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताए । अध्यक्ष चन्दले प्रतियोगितामा नौ वटा टिमले सहभागी हुने पनि जानकारी गराए ।
महासंघका उपाध्यक्ष अनिलकुमार पुन मगरले राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगित हुन गइरहेको बताए ।
कार्यक्रम आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताइएको छ । वीरजङ्ग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिम खेलमा सहभागी हुने आयोजकको भनाई छ ।
प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र शान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ । साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ । सहभागी टिम तथा खेलाडीले खाना, बस्नको व्यवस्था आफैं गर्नपर्ने महासंघले जनाएको छ । साथै, टिम दर्ता शुल्क निःशुल्क रहेको छ । खेल लिगकम नकाउटको आधारमा भलिबल संघ र राष्ट्रिय रेफ्रिहरुको नियम बमोजिम खेलाइने महासंघले जनाएको छ । एक टिमले तीन जनासम्म विदेशी खेलाडी पनि राख्न पाउने महासंघले जनाएको छ ।
युवा संगठन नेपालका कार्यलय सदस्य तिलक सीले नेपालका डाइनामिक लिडर वीरजंगको स्मृतिमा यो प्रतियोगिता हुन लागेको बताए । वीरजंल खेलप्रति अत्यन्तै रुची राख्ने पात्र भएको उनले बताए ।
किङ्गस क्लबको अध्यक्ष अञ्चल शाही ठकुरीले वीरजंग खुल्ला पुरुष भलिबल प्रतियोगितामा आफूहरुको पनि सहभागिता रहने बताए । किङ्गस क्लबले तोरण चन्दलाई टिम क्याप्टेनको जिम्मेवारी दिएको उनले बताए । नेपालको खेल क्षेत्रको श्रीवृद्धिका लागि नेपाल गणतान्त्रिक खेलकुद महासंघको उल्लेखनीय योगदान रहेको भन्दै उनले प्रसंशासमेत गरे ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद विक्रम चन्दले वीरजंगको आचरण, क्षमता र योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए । वीरजंगको मृत्युको कारण पनि राज्य नै भएको उनको आरोप छ । वीरजंगलाई अमर बनाइराख्न पर्छ भनेर उनकै नाममा प्रतियोगिता आयोजना गरेरिएको महासचिव चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array