महेश र विनोदले गरे  सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०८०, सोमबार
5 Min Read
Aa

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने  प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको  अन्तरसंवादलाई  सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो सम्बोधन गर्ने क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गरे ।

उनले भने,‘ गैर आवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेको साथै पदलोलुपता  बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर सम्बोधन गर्न पाउँदा एकता निश्चित हुनेछ,’ उनले भने,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

आफू कोषाध्यक्ष हुँदा संघको गरिमा बढ्ने गरी सिष्टम बनाउन सफल भएको र पारदर्शी रुपमा कोष संचालन गरेको बताउँदै श्रेष्ठले अध्यक्ष पदमा विजयी भएपछि अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएर सबैको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता दोहोर्याए । ‘पूर्वअध्यक्षहरुले शुरु गर्नुभएको दीर्घकालिन योजनाहरु अधुरै छन् । २० बर्षको इतिहासमा पनि संस्था एउटा प्रक्रियामा हिंड्न सकेन । कसले के काम गर्ने भन्ने अन्योल छ । तर अब यि समस्याहरुको हल हुनेगरी पाँचवटा बुँदालाई केन्द्रमा राखेर एक्सन र भिजनसहित काम गर्न तपाइँहरु सामू उभिएको छु ।’

कोरियाबाट सम्बोधन गर्ने क्रममा उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरलाई पनि साथमै राखेका थिए । त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गरे । उनले श्रेष्ठलाई शुभकामना पनि दिए।  ।

गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको  छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिए पछि  विनोद कुँवर नेतृत्वको समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ।

संघका उपाध्यक्ष  नारायण आचार्यले  महेशजी सँगै कमिटिमा बसेर काम गरेको स्मरण गरे। ” सबै साथीहरुको सल्लाह र सुझावका आधारमा फेरि उपाध्यक्षमा दोहोरिने निर्णय गरेको छु । म टिम स्प्रिटमा विश्वास गर्छु र  अहिले महेशजीको नेतृत्वमा संस्था एकताबद्ध हुनेछ भन्ने कुरामा म विश्वस्त छु,” आचार्यले भने  ।

उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले ११ औं अधिवेशनलाई एकताको अधिवेशन बनाउन जरुरी रहेको बताए ।  गैरआवासीय नेपाली नागरिकताको अधिकार प्राप्त भए पनि बंशजको आधारमा प्राप्त नागरिकताको निरन्तरताको लागि  टिम महेशले पहल गर्ने उनले बताए । युवाहरुलाई जोड्ने मुख्य लक्ष्य लिएर आफुले उम्मेदवारी दिएको बताउंदै उनले विदेशमा आर्जन गरेको सिप र पुँजीलाई नेपालमा लगानी गरी  समृद्ध नेपाल बनाउने अभियानमा केन्द्रीत हुन आग्रह गरे।

उपाध्यक्ष पदका उम्मेदवार  सुनील साहले संघको कोषाध्यक्षको रुपमा  संस्थाको पारदर्शीताको लागि काम गरि रहेको र  प्रत्येक महिना खर्च विवरण सार्वजनिक गर्ने गरिएको बताए  । “हामीले धेरै उपलव्धि हासिल गरे पनि काम गर्न बाँकी नै छ । म काममा विश्वास गर्ने व्यक्ति हो । भोलिका दिनमा पनि यो विश्वासलाई कम हुन दिने छैन,” उनले भने।

संघका सचिव तथा उपाध्यक्ष पदका उम्मेदवार गंगाधर गौतमले  विगतमा विभाजित एनआरएनएलाई एकीकृत गर्नका लागि महेश श्रेष्ठको भूमिका महत्वपूर्ण हुने बताए । एनआरएनलाई कुन दिशामा लैजाने, यहाँ देखिएका समस्या र विभाजनका रेखाहरुलाई अन्त्य गर्दै कस्तो नेतृत्वको आवश्यकता छ भन्ने विषयमा बहस गर्दै टिम महेशलाई सघा उन उनले सबै डेलिगेट्स हरु लाई आग्रह गरे।

टिम महेशबाट महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी र आइसीसीको चुनाव एकैपटक गर्ने साथै एनसीसी अध्यक्षहरुलाई आइसीसीको आमन्त्रित सदस्य बनाउन प्रस्ताव अघि सारे । उनले प्रभावकारी केन्द्रीय कार्यालय तथा हस्तक्षेपरहित र स्वायत्तपूर्ण एनसीसी निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको बताए  ।

‘दुई वर्षे कार्यकाल रहेको एनआरएनएमा निर्वाचन प्रक्रियामै ६ महिना व्यतीत हुनेगर्दा पूर्व निर्धारित महत्वपूर्ण कामहरु ओझेलमा पर्ने भएकाले सबै पन्जीक्रीत सदस्य हरुले एकै पटक मतदान गर्ने गरी आइसीसी र एनसीसीहरुको निर्वाचन एकैपटक गर्न प्रस्ताव अघि सारेको हुँ,’ उनले भने,‘संस्थामा व्यापक सुधार गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई संस्था चलायमान रहेको अपनत्व अनुभूत गराउनेछौं र सिन्डिकेटहरु तोडेर अघि बढ्ने छौं ।’

उक्त अवसरमा अन्य उम्मेदवारहरुले पनि आआफ्ना एजेन्डा प्रस्तुत गर्दै टिम महेशलाई जिताउन आग्रह गरेका थिए।  कार्यक्रमको सुरुमा संघका महासचिव तथा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलले सबै सहभागीहरुलाई स्वागत गरेका थिए। अन्तरक्रियाको संचालन गुराँस पौडेल तथा सचिव पदका उम्मेदवार दिपक गौतमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array