युरोप पुगेका नेपाली युवामा डिप्रेसनको समस्या बढ्दो, डिप्रेसनको कारण यस्तो रहेछ ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ आश्विन २०८०, बिहीबार
13 Min Read
Aa

पेरिस — जर्मनीको हेमवर्ग निवासी चितवनका जेनिस महर्जन नेपालबाट जर्मनीमा अध्ययन भिसामा आउँदा उनमा कुनै समस्या देखिएको थिएन । तर जर्मनी आइसकेपछि उनमा डिप्रेसन देखियो । उनले चिकित्सकको सल्लाहमा औषधि लिइरहेका थिए । एकदिन उनी औषधि लिन गएका थिए फार्मेसीमा ।

‘अर्डर’ गरेर मात्रै पाइने उक्त औषधि फार्मेसीले केही दिनमा मगाइदिने मिति दिएको थियो । औषधि नपाएर छटपटाइरहेको उनीनिकट व्यक्तिहरूले मेसो पाएका थिए ।त्यही छटपटिएका बेला एकदिन दिउँसो तीन बजे ‘ल म सुत्न जान्छु’ भन्दै पत्नी गइन् । जेनिस भान्छामा कसैसित कुरा गरिरहेका थिए । केहीबेरपछि उनले भान्छाको झ्यालबाट हाम्फालेर ज्यान गुमाए । कसैले खबर गरेपछि केही मानिसहरूसहित आएका प्रहरीले ढोका फोरेर उठाउँदासम्म पत्नीलाई घटनाको जानकारी नै थिएन । प्रहरी आएर उनैले घचेटेको हो भन्ने आरोपमा पक्राउ गर्‍यो । दुई दिन थुन्यो । पत्नीलाई झन् ठूलो आघात भयो । यता भर्खर बिहे गरेको लोग्नेको ज्यान गएको छ अर्कोतिर आफू अपराधी घोषित गर्दै प्रहरीले पक्राउ गर्‍यो । उनको संलग्नता नदेखेपछि केही दिन थुनेर पत्नीलाई छोड्यो ।

यस्तै नवीन आचार्य, जर्मनीमा विद्यार्थी भिसामै थिए । पढाइ राम्रो भएपनि उनी जर्मनीमा कामको भारले नियमित कलेज जान पाएनन् । फेल भए । त्यसपछि गत नोभेम्बरमा पोर्चुगल गए । साँझ राम्रोसित सुतेका उनी बिहान ओछ्यानमै मृत भेटिए ।’आचार्य त पढ्न एकदमै तगडा थिए । मसितै बसेका थिए केही समय । अरुले नपढे पनि यो केटोले पढ्छ भन्ने थियो । तर जर्मनीमा पास हुन नसकेपछि उनी पोर्चुगल गएका थिए । उनमा पनि डिप्रेसन थियो भन्ने बुझियो । उनले पनि उतै ज्यान फालेछन्,’ जर्मनीको मुन्स्टरमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सूर्य तिवारीले कान्तिपुरलाई सुनाए ।

म्युनिखस्थित क्लिनिकोम बोगेन हाउजिङ अस्पतालमा न्युरोलोजिस्ट डा. प्रवेश पौडेलले नवीनसँगै सन् २००९ तिर चिकित्सा विज्ञान अध्ययन गरेका थिए । यहाँ आएर हाइस्कुलमा पढे । त्यो पास गरे, तर मेडिसिनमा नवीनको नाम निस्किएन । त्यसपछि स्टुट्गार्ड सहरनजिकैको टुबिंगिङमा बायोटेक्नोलोजी पढ्न सुरु गरेका थिए । पढाइ सकिएकै थिएन, कामको चक्करमा म्युनिखतिर सरे। उनले पढाइ र काम एकसाथ लान सकेनन् । पढाइ छोडेर एउटा रेस्टुरेन्टको भान्छामा काम थाले ।पढाइ बिग्रियो । कागज बिग्रियो । त्यसपछि २०१५–१६ मा नेपाल फर्किए । नेपालमै रेस्टुरेन्ट खोले । नेपालमा बिहे गरेर फेरि युरोपको कागज बनाउने चक्करमा उनी पोर्चुगल आए । जर्मनीको पढाइ, काम, युरोपको कागज बिग्रिनु, नेपाल गएर फेरि पोर्चुगल आउँदा पनि काम र घरपरिवारमा सन्तुलन नमिलेपछि उनले ज्यान फाले ।

जर्मनीमा अध्ययन भिसामा आएर ज्यान गुमाउनेमा जर्मनीको केमनिस्ट भन्ने ठाउँमा ज्यान गुमाएका विकास पोडर र जीवन पाण्डेलगायत अरु पनि छन् । तर यसरी ज्यान गुमाए पनि नेपालीहरूले ती घटनाहरूलाई गुपचुप राख्ने गरेका छन् ।

जर्मनीका नेपालीको भनाइमा नवीन आएको करिब १० वर्ष भइसकेको थियो । आठ वर्षमा चिकित्सक पढाइ सक्नुपर्नेमा उनले सकेका थिएनन् । विकास आएको भने तीन वर्ष मात्रै भएको थियो । उनले काम पाएका थिएनन् । निम्न मध्यमवर्गीय परिवारका नवीनसित आउनेहरू चिकित्सक बनेर काम गर्न थालिसकेका थिए तर उनी भने एक दशक पुग्दा पनि सफल भएका थिएनन् । उता निम्न वर्गको परिवार भएकाले खर्च थिएन । कामसमेत नपाएर रन्थनिएका थिए ।

जर्मनी र पोर्चुगलमा पुगेर ज्यान गुमाएका चार जनामध्ये तीन जनाका लागि जर्मनी निवासी नेपालीहरूले भित्रभित्रै चन्दा उठाएर शव नेपाल पठाए । जर्मनीबाट मृतकको शव नेपाल पुर्‍याउन करिब ६ हजार युरो लाग्छ । आत्महत्यामा परेर ज्यान गुमाउनेका लागि पोर्चुगल, फ्रान्स, क्रोएसियालगायतका अन्य देशमा पनि यसैगरी चन्दा संकलन गर्ने गरिएको छ ।

यसरी डिप्रेसनमा पुगेर ज्यान गुमाउने नेपालीहरूको संख्या पोर्चुगल, फ्रान्स, क्रोएसिया, स्विजरल्यान्डलगायत युरोपभर नै बढ्दो छ । डिप्रेसनकै कारण ज्यान गुमाउनेको संख्या पोर्चुगलमा पनि आधा दर्जनभन्दा बढी भइसकेको छ ।तर, डिप्रेसनमा परेका नेपालीको संख्याबारे कसैलाई यकिन थाहा छैन । पछिल्लो समयमा सयौं नेपाली डिप्रेसनमा पुगेको र कतिपयलाई डिप्रेसनमा पुगेको जानकारीसमेत नभएको भनाइ नेपाली चिकित्सक र नेपाली समुदायका अभियन्ताहरूको छ ।

‘कतिपयलाई त डिप्रेसन भनेको के हो । डिप्रेसनमा परेको हो कि होइन भन्ने ज्ञान पनि हुन्न । झन् दक्षिण एसियाली मुलक नागरिकमा त डिप्रेसनको उपचार हुन्छ भन्ने हेक्का पनि कम छ,’ जर्मनीको म्युनिखस्थित क्लिनिकोम बोगेन हाउजिङ अस्पतालमा न्युरोलोजिस्ट डा. प्रवेश पौडेल भन्छन् ।

किन बढिरहेछ डिप्रेसन?

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका सचिव रवि अर्यालको भनाइमा युरोपमा ठूलो सपना बुनेर आउँछन् नेपाली । १५–२० लाखसम्म खर्च गरेर आएर महिनामै लाखौं कमाउने सपना देखेकाले मुस्किलले ७०–८० हजार कमाएर पनि धान्न मुस्किल भएपछि दबाबमा पर्न थाल्छन् र निराशा बढ्छ ।

कोरोनाकालमा क्रोएसियाबाहेक युरोपका सबैजसो देश लकडाउनमा थिए र आवतजावत बन्द थियो । कोरोनाकाल सक्किएलगत्तै युरोपका विभिन्न देशबाट नेपाली पोर्चुगल लागे । केही महिनाको अन्तरालमै ३० हजारभन्दा बढी ओइरिएपछि काम, कागज र डेराको समस्या पर्न थाल्यो । तिनीहरूमा निराशा उत्पन्न भयो । कतिपय कुलतमा समेत फसे । तिनमा झनै डिप्रेसन बढ्दै गयो ।

धेरै नेपालीलाई १२ देखि १८ लाख असुलेर दलालले पोर्चुगल ल्याउँछन् । खासमा कृषि कम्पनीले कामदार ल्याएबापत कुनै दस्तुर लिन्न । दलालहरूले कामको अनुभवप्राप्त नक्कली प्रमाणपत्र तयार गर्छन् र भिसा लगाएर ल्याउँछन् । प्रमाणपत्र भए पनि तिनलाई युरोपमा कामको ज्ञान हुन्न । केही दिनमै कम्पनीले काम राम्रो भएन भनेर निकालिदिन्छ । त्यसो भएपछि अर्को कम्पनीले पनि तत्कालै काम दिन्न । भाषाको ज्ञान हुन्न । हातमा पैसो हुन्न र त्यो व्यक्ति सडकमा पुग्छ ।

‘मान्छे ल्याउने दलालसित गुनासो गरे ‘तपाईंले कामै गर्नुहुन्न त के गर्ने ? काम गर्नुपर्दैन ? काम जान्या छु भनेर प्रमाणपत्र पेस गर्‍या होइन ?’ भनेर हकार्छ । त्यो मानिस डिप्रेसनमा जान्छ, कोही पागल हुन्छ । कोही जाँड खाएर बाटोमा सुत्छ । कोही आत्महत्या गर्छ,’ सन् २०१५ देखि पोर्चुगल बसेर कृषिमा काम गर्दै आएका जनप्रगतिशील मञ्च पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विक भन्छन्, ‘मानसिक रोगीहरू प्रशस्त छन् । सडकमा मागेर खानेहरू प्रशस्त छन् । नेपालीहरू टन्नै बेवारिसे छन् नि । काम छैन, बस्ने ठाउँ छैन, डिप्रेसन छ, पैसा छैन । रोडमा सुत्ने अवस्था छ पूरै ।’

युरोपमा हरेक देश र सहरपिच्छे समस्या केही फरक पनि छन् । जर्मनीको म्युनिख, फ्रान्सको पेरिस, स्विजरल्यान्डको जेनेभा, स्विडेनको स्टकहोम, नेदरल्यान्ड्सको हेहेग तथा आम्स्टर्डम जस्ता सहरमा बस्नेलाई कोठा पाउनै ठूलो समस्या छ। यी सहरमा भाडा महँगो छ । सम्बन्धित देशकै विद्यार्थी भए बाबुआमाको कागजात जमानी राखेर कोठा भाडामा लिन मिल्छ । तर, नेपाली विद्यार्थीलाई त्यो सुविधा हुन्न । कि त नेपालीको आफ्नै बैंक खाता हुनुपर्‍यो । त्यो बैंक खातामा पनि पैसा खासै हुन्न । त्यसैले विद्यार्थीलाई घर भाडामा दिन गाह्रो मान्छन् । होस्टेलको संख्या न्यून हुन्छ । तर जर्मनीको लाइफचिख जस्ता सहरमा डेराको समस्या नभए पनि काम पाउने समस्या छ ।

विद्यार्थीहरूले भोग्ने अर्को ठूलो समस्या भनेको भिसा बढाउने हो । विद्यार्थीलाई जहाँ पनि भिसा र वैधानिक कागज बनाउन पैसा हुन्न । जर्मनीमा पहिले ८ हजार युरो थियो अहिले त्यो पनि बढेको छ । युरोपका अधिकांश देशमा सुरुमा एक एक वर्ष वा दुई वर्षभन्दा बढी समयको भिसा दिन्न । कतै पूरै सात हजार युरो माग्छ त कतै काम गरेको कागज बुझाए अलि थोरै लिएर पनि भिसा बढाइदिन्छ । फ्र्यांकफर्ट त झन् यस्तो सहर हो भिसा बढाउन रातिदेखि गएर लाइनमा बस्नुपर्छ । भित्र गएर फेरि अर्को तनाव दिन्छन् ।

‘भिसा बढाउनु भनेको विद्यार्थी जीवनमा तनाव नै हुन्छ । पैसा पुग्छ कि पुग्दैन भनेर पनि तनाव नै तनाव हुन्छ,’ न्युरोलोजिस्ट डा. प्रवेश पौडेलले भने । विद्यार्थीका लागि सहज भनेको कसैले प्रायोजन (स्पोन्सर) गर्नु हो । त्यो भएमा विश्वविध्यालयले पढाइको कागज बाहेक अरु केही हेर्दैन, सजिलो हुन्छ । विद्यार्थीले सेमेस्टरपिच्छे पढाइ सक्नुपर्छ । पैसा पनि छैन भने त तनाव झन् दोब्बर हुन्छ । विश्वविद्यालयमा पढिरहेको कागज छैन भने भिसाको मिति सकिन्छ । पढ्न आएको मान्छे कामको कागज मात्रैले त भिसा बढ्दैन । कुनै सेमेस्टरमा अनुपस्थित भएमा त्यो पनि सोधेर तनाव दिन्छन् भिसा बढाउन जाँदा । जर्मन, फ्रान्सेली वा अन्य देशको स्थानीय भाषामै पढ्नुपर्ने हो भने भाषा पनि जान्नुपर्‍यो । त्यसले झन ठूलो तनाव दिन्छ ।

‘विदेश आइसकेपछि भिसा बढाउने, कामको चक्कर, घरको ऋण, साथीभाइसित प्रत्यक्ष भेटघाटको अभाव। अझ घरमा बाबुआमाले पकाएको खाइरहेको बानी । यता आएर आफैंले गर्नुपर्छ । त्यसले दोब्बर हुन्छ तनाव,’ डा. प्रवेश पौडेलले भने ।

नेपालीहरू मेहनती त हुन्छन् । तर तनाव लिनसक्ने क्षमता धेरैमा हुन्न । कि त दु:ख पाएर हुर्किनुपर्‍यो । धेरै युवायुवतीलाई बाबुआमाले गरिखा, पढ् भनेर पठाएका हुन्छन् । एक्लै लड्ने जुध्ने क्षमता विकास भएको हुन्न । कम उमेरका युवायुवती आउँछन् । आकांक्षा, सपना धेरै हुन्छन् तिनका। सामाजिक सञ्जालमा अरुले सुख पाएको, मोजमस्ती गरेको धेरै कुरा देखिन्छ । अरुसित तुलना गर्छन् । त्यसले पनि निराशा बढाइदिन्छ ।

‘नेपालीको बानी फेरि नराम्रो के छ भने अरुसित तुलना गर्ने । फलानोले यस्तो प्रगति गरिसक्यो मेरो त भएन भन्ने । पढाइ, खानपान, घुमघाम साराको सारा तुलना गर्छन् त्यो पनि सामाजिक सन्जालमा अरुको देखेर । त्यसले तनाव दिनु स्वभाविक हो,’ पौडेल सुनाउँछन् ।

विदेशमा संघर्षरत नेपालीहरु डिप्रेसनमा जानुको अर्को कारण नेपालमा रहेका परिवार पनि हुन् । परिवारले विदेश गएका अन्य नेपालीसित आफ्नाको कमाइ र अवस्थाको तुलना गरिदिन्छन् ।

कपिलवस्तुको शुद्दोधन गाउँ पालिका-३ स्थायी घर भएका सन्तोष क्षेत्री हाल पेरिसको आईसीटी कलेज अफ बिजनेसमा अध्ययनरत छन् । कामको अभाव, डेराको समस्या, र भाषाको कठिनाइ एकैपटक भोग्नुपर्दा युरोप आएका युवायुवतीमा डिप्रेसनको समस्या देखिएको बताउँछन् ।

‘समस्याबाट कसरी पार लगाउने भनेर आत्तिएका हुन्छन् । सँगैको साथीले एक सर्को दिन्छ, तान्यो । आनन्द आउँछ । राहत महसुस हुन्छ । केहीबेर समस्या भुलिन्छ । यसो गर्दागर्दै बानी लाग्छ, पैसा पनि सकिन्छ, स्वास्थ्य पनि बिग्रिन्छ । अनेक कुलतमा लागेर बिग्रिएका धेरै विद्यार्थी देख्छु म । डिप्रेसनमा जाने अवस्था छ। तर नेपालमा आफ्ना अभिभावकलाई यो कुरा थाहै हुन्न,’ सन्तोष क्षेत्री भन्छन् ।

फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्सलगायत युरोपेली मुलुकमा आउनेहरूको कम्तीमा १४-१५ लाख खर्च हुन्छ । पेपरका लागि संघर्ष गर्नुपर्‍यो । यताको पद्धति र भाषा-संस्कृति, कुनै इलम सिक्दा दुई-तीन वर्ष लाग्छ। त्यो तीन वर्षका बीचमा उता नेपालमा ऋण गरेर आएको पैसाको ब्याज बढ्दै जान्छ । ‘यत्रो समय भयो गएको । पैसा खोइ कमाएको ? ब्याज बढ्यो, फलानाले यति कमायो,’ भन्ने जस्ता कुरा गरेर मध्यमवर्गीय परिवारकाले दाबाब दिन थाल्छन् ।

‘युरोप आउने सबै सम्पन्न हुँदैनन् । ऋण काढेर आएका धेरै हुन्छन् । ऋणको ब्याज बढ्दै गयो भन्ने हुन्छ । अरुले यति पठाए हाम्रोले पठाएन भनेर घरबाट गुनासो आउँछ । कोठा, काम, भिसालगायत यहाँको समस्या छँदै छ, घरतिरका अपेक्षालाई पनि पूरा गर्न नसक्दा मान्छे आत्तिन्छ, डिप्रेसनलगायतका स्वास्थ्य समस्यामा फस्छ,’ सूर्य तिवारीले भने ।

त्यसो त, युरोप आउनेका आशा र महत्त्वाकांक्षा पनि बढेका हुन्छन् । वर्षौं दु:ख गरेर राम्रोसँग घरजम गरेकासित नयाँ आएकाले तुलना गर्न थाल्छन् । उनीहरुको जस्तै घुमफिर, घर, गाडी, भोजभतेर आफ्नो नहुँदा छिटो निराश बन्ने गरेका छन् ।

‘पुरानाहरूले राम्रो लुगा लगाउने, घुम्ने, डुल्ने, गाडी चढ्ने गरिरहेका हुन्छन् । नयाँहरू संघर्षकै कालमा हुन्छन्, त्यो सफलता त हुन्न । पुरानाले मोज गरे, मेरो केही भएन भनेर पनि निराश हुन्छन्,’ सूर्य तिवारीले भने ।

सामाजिक सञ्जालले गर्दा मानिसहरूलाई प्रत्यक्ष सम्पर्कमा आउनै नचाहनेसमेत बनाइदिएको छ । सामाजिक सञ्जालमा हेरेर भर्खर आएकाहरू पनि यहीँका मान्छे जस्तो हुन खोज्दा पनि समस्या निम्तिने गरेको छ । पहिले पुरानाहरू दशैं, तिहार, तिज, फुटबल खेल्दा आउँथे, घुलमिल, बातचित हुन्थ्यो । अहिले मोबाइलमै सबै थोक पाइन्छ भनेर सम्पर्कमै आउँदैनन् । भेटघाट नभएपछि सम्पर्क गर्ने ठाउँ पाउँदैनन् । ती बोल्नै डर मान्ने र लजाएर तर्किने गरेको भनाइ नेपालीहरूको छ ।

‘एक्लिएपछि समस्या पर्दा समाधान गरिदिने कोही हुन्न र ती डिप्रेसनमा जान्छन् । अहिलेका युवायुवतीले त पुराना मान्छे पढेलेखेका हुन्नन्, केही जान्दैनन् भन्ने सोचाइले पनि पुरानादेखि तर्किन्छन् । आफ्नो समस्या किन अर्कालाई सुनाउने भनेर पनि गुम्स्याएर राख्छन् । त्यसो गर्दा ती एक्लिन्छन् र आफैं डिप्रेसनको सिकार बन्छन्,’ तिवारीले भने ।

प्रतिक्रिया दिनुहोस्

Array