हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । ७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ ।
हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो । इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरुको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुन्छ । यसैगरी सय भन्दा बढी निर्दोष नागरिकहरुलाई अपहरण गरी बन्धक बनाउने हमासको कृत्य आतंकवादको पराकाष्ठा हो । शान्ति समाज त्यसरी बन्धक बनाइएका विपिन जोशीसहित सबैको शिघ्र सकुशल रिहाइको माग गर्दछ ।
पछिल्लो चरणमा युद्धको शुरुवात आतंकवादी कृत्यबाट हमासले शुरु गरेको छ । प्यालेष्टिनी स्वराज आन्दोलनको प्रतिनिधित्व आतंकवादी हमासले गर्न सक्दैन । तसर्थ प्यालेष्टिनी स्वराजको नाममा हमासलाई बोक्ने काम कसैले पनि गर्नुहुदैँन र आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्छ ।
यसैैगरी हमासको बर्बरताको प्रतिवाद गर्ने नाममा लाखौँ निर्दोष प्यालेष्टिनी जनतामाथि प्रदर्शन गरिने कुनै पनि प्रकारको बर्बरता मानवता विरुद्धको अपराध हो । इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्ने तर्फ शान्ति समाज ध्यानाकर्षण गराउँछ । उत्तरी गाँजाका झण्डै ११ लाख बासिन्दालाई बस्ती छोड्न इजरायलले जारी गरेको फरमान, गाँजास्थित अस्पताल खाली गर्ने आदेश, अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको घातक अस्त्रको प्रयोग, गाँजामा विजुली, पानी र खाद्यान्न आपुर्ती रोक्ने जस्ता अमानवीय नाकाबन्दी मानवता विरुद्धकै अपराधमा पर्दछ जस्को शान्ति समाज निन्दा गर्दछ । हमासको आतंकवाद र इजरायलको उद्दण्डता दुवै विश्व शान्तिका लागि खतरा भएको हुँदा आतंकवाद र उद्दण्डतालाई रोक्न र युद्ध अन्त्यका लागि विशेष पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई शान्ति समाज आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array