चालु आर्थिक वर्षको तीन महिनामा आयात बढे सँगै तीन महिनामा व्यापार घाटा २.१५ प्रतिशत बढ्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ कार्तिक २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौँ, चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।

विभागका अनुसार असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । गत वर्ष तीन महिनामा चार खर्ब ९९ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । चालु आवको साउनमा १.५६ प्रतिशत र भदौमा ५.०६ प्रतिशतले आयात घटेको थियो । तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपियाँको निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँको वस्तु निर्यात भएको थियो ।

आयात बढेसँगै तीन महिनामा व्यापार घाटा २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपियाँ पुगेको विभागको तथ्याङ्क छ । तीन महिनामा २९ अर्ब ९२ करोड रुपियाँको डिजेल आयात भएको छ । यस्तै पेट्रोलको आयातमा १७ अर्ब १० करोड रुपियाँ खर्च भएको छ । खाना पकाउने एलपी ग्यास ११ अर्ब ६२ करोड रुपियाँ बराबरको आयात भएको छ । एक अर्ब ६० करोड ७४ लाख ३३ हजार रुपियाँको खाद्यान्न आयात भएको छ । यस्तै तीन महिनामा नौ अर्ब ४३ करोड १९ लाख रुपियाँको स्मार्ट फोन आयात भएको छ । सुन आयातमा सात अर्ब ३५ करोड रुपियाँको सुन आयात भएको छ ।

Gorkhapatra

यस्तै आइरन, स्टिल, कोइला नौ अर्ब ७६ करोड ९४ लाख ३४ हजार रुपियाँ बराबरको आयात भएको छ । स्मार्ट फोन नौ अर्ब ४३ करोड १९ लाख रुपियाँ बराबरको आयात भएको छ । आयात बढेका कारण सरकारले तीन महिनामा एक खर्ब नौ अर्ब २४ करोड रुपियाँ भन्सार महसुल सङ्कलन गरेको छ ।

साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँ बराबरको सामान आयात भएकामा असोज महिनामा मात्रै एक खर्ब ४८ अर्ब बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

भदौमा एक खर्ब ३० अर्बको आयात भएकामा असोजमा एक खर्ब ४८ अर्ब नाघेको छ । आयातमा केही सुधारसँगै तीन महिनामा भन्सार राजस्व एक खर्ब नाघेको छ । असोजसम्म कुल एक खर्ब नौ अर्ब २४ करोड ९१ लाख छ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आवमा उल्लेख्य रूपमा वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array