भारती मानन्धरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने अधिकारकर्मीहरुको भनाई, रिगल ढकाललाई पूनः जेल हाल्नुपर्ने माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ कार्तिक २०८०, सोमबार
10 Min Read
Aa

काठमाडौं,  नवौं संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल ढकाललाई दिएको आममाफी झनैं पेचिलो बन्दै गएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका रिगल डन भनिने योगराज ढकालले संविधान दिवसका दिन आममाफी पाएका थिए ।
रिगलको आममाफीविरुद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । उनले दायर गरेको रिटको सुनुवाई कात्तिक १४ गते (भोलि) का लागि तोकिएको छ । भोलि सुनुवाइ रहेको उक्त रिटबाट पीडितको पक्षमा फैसला हुनुपर्ने र भारतीले न्याय पाउनुपर्ने भन्दै आज (सोमबार) सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, कानुनविद् र सरोकारवालाहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका छन् ।
कार्यक्रममा अन्तराष्ट्रिय मानवअधिकारकर्मी विद्या श्रेष्ठ मानन्धरले आममाफीको नाममा हत्यारालाई उन्मुक्ति दिनु गलत भएको बताईन् । आफूहरु विधिको शासनका लागि लडिरहेको बताउँदै उनले आममाफी पुनर्विचार गरिनुपर्ने धारणा राखिन् ।
‘आममाफीको नाममा हत्यारा र ठूला–ठूला अपराधी छुट्ने गरेका छन् । के यो न्याय हो ? हामी नेपालीहरु विधिको शासनमा विश्वास गर्छौं । रुल अफ ल कायम हुनुपर्छ भनेर हामी लडिरहेका छौं,’– उनले भनिन् ।
राष्ट्रपतिलगायत जनताले जिताएर पठाएका जनप्रतिनिधिहरु विधिको शासन कायम गर्न असफल भएको उनको टिप्पणी छ । रिगल ढकालको आममाफीका बारेमा आफूले संयुक्त राष्ट्रसंघको फ्रन्ट लाईन डिफेन्डरमा पनि कुरा राखेको उनले बताईन् । रिगलले व्यक्ति हत्या र भारतीको चरित्र हत्या गरेर दुईवटा अपराध गरेको उनको दाबी छ । रिगलको आममाफी मानवअधिकारकर्मी लगायत आफूहरुले स्वीकार गर्न नसक्ने उनले बताईन् ।
‘रिगल ढकालको अन्तरवार्ता पनि मैले हेरेको छु । यो विषयमा मैले हाम्रो फ्रन्ट लाईन डिफेन्डरमा पनि कुरा राखेको छु । उहाँले दुईवटा अपराध गरेको मैले ठानेको छु । एउटा चेतन मानन्धरलाई खुँडाले हानेर हत्या, अर्को उहाँले भारती बहिनीको चरित्रहत्या गरेर अपराध गर्नुभएको छ ।’ उनले भनिन्, ‘उहाँ अपराधी हुनुहुन्छ भनेर मैले ठम्याएको छु । उहाँलाई आममाफी मान्दैनौं ।’
उनले भोलि हुन गइरहेको उक्त मुद्दाको सुनुवाइले राष्ट्रपतिको गलत कदमलाई सही ट्रयाकमा ल्याउने पनि विश्वास व्यक्त गरिन् । ‘१४ गते उक्त मुद्दाको सुनुवाइ हुन गइरहेको छ । मलाई आशा छ, हामी विधिको शासनमा विश्वास गर्ने नेपाली भएकाले सम्मानीत सर्वोच्च अदालतले राष्ट्रपतिको गलत कदम आममाफी फिर्ता गराएर अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’– उनले भनिन् ।
सामाजिक अभियन्ता रविन्द्रकुमार श्रेष्ठले रिगलको आममाफीबाट भारती मानन्धरलाई अन्याय परेको दाबी गरे । ज्यान सम्बन्धी कसुृरमा जेल जीवन विताइरहेका रिगललाई आममाफी दिने निर्णय गरेर मन्त्रिपरिषददेखि राष्ट्रपतिले समेत भारतीमाथि अन्याय गरेको उनले बताए । आममाफी लखेटी लखेटी खुँडा प्रहार गरेर हत्या गर्ने हत्यारा, बलात्कारी र भ्रष्टाचारीले पाउने चिज नभएको उनको भनाई छ ।
अहिले गठबन्धनको सरकार भएको बेला नेपाली कांग्रेससँग जोडिएको रिगललाई छोडिएको उनले बताए । मन्त्रिपरिषद्ले आफ्नो स्वार्थ र सत्ताका लागि ल्याएका सबै चिजलाई प्रमाणीकरण गर्ने राष्ट्रपतिको काम नभएको उनले बताए ।
‘जघन्य अपराध भयो भनेर पार्टीको मान्छेलाई सत्ताको लागि यसरी छोड्न कदापि मिल्दैन । यो सुशासनको अभ्यास हुँदैहोईन । यस कारण यो सबै हेरेर बस्न सकिएन । यो बीचमा हामी सुशासनको पक्षमा र गुण्डाहरुको विरुद्धमा उभिन पर्छ भनेर हामी यहाँ उभिएका छौं,’– उनले भने ।
पीडितले प्रतिपक्ष छ भनेर अनुभूति पनि गर्न नपएको उनको भनाई छ । उनले ‘कहाँ छ एमाले ? कहाँ छ रास्वपा ?’ भन्दै प्रश्नसमेत गरे । नागरिकलाई अन्याय पर्दा प्रतिपक्ष र सत्तापक्ष कोही पनि नदेखिएको उनले बताए ।
नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले भारती मानन्धरले दायर गरेको रिट नजीरको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । उक्त फैसलाबाट ज्यानसम्बन्धी अभियोग पुष्टि भएरपनि आममाफी पाएका रिगल फेरीपनि जेल जाने उनको दाबी छ ।
‘भारती मानन्धरले हालेको जुन रिट छ, त्योअन्तर्गत रिगल ढकाल भन्ने एकजना व्यक्ति जेल परेपछि नजीर बन्नेछ । अब आममाफी पाएका अपराधी फेरीपनि जेलमा हुनका निम्ति नजिर बन्नेछ । सर्वोच्च अदालतले उहाँलाई न्याय दिनुपर्छ,’– उनले भने ।
भारतीजस्ता पीडितलाई सर्वोच्च अदालतले न्याय दिन नसक्ने हो भने अदालत खारेज गरे हुने उनको टिप्पणी छ । आफूहरु अन्तर्राष्ट्रिय अदालतमा पुगेर भएपनि भारतीलाई न्याय दिलाएर छोड्ने उनले बताए ।
‘सर्वोच्च अदालतले न्याय दिँदैन भने त्यहाँका न्यायाधीशरु र न्याय प्रणालीलाई खारेज गर्दिए हुन्छ । युवराज सफल त्यसका लागि लड्न तयार छ । अन्तराष्ट्रिय अदालतमा लगेर भएपनि हामी उहाँलाई न्याय दिलाउँछौं,’– उनलेभ ने ।
भारतीले दायर गरेको रिट नजीरको रुपमा स्थापित भएपछि आममाफी पाएर खुलेआम हिँडिरहेको धेरै बलात्कारी, भ्रष्टाचारी र ज्यानमाराहरु पुनः जेल जाने उनले बताए । आममाफीविरुद्ध भारतीले सुरु गरेको अभियान र रिट कोशेढुंगा सावित हुने उनको दाबी छ ।
ज्यानसम्बन्धी कसुर, भ्रष्टाचार र बलात्कार मुद्दामा प्रचण्ड, ओली, देउवा जिन्दावाद भनेको भरका चोर बाटोबाट आममाफी दिन नहुने उनको भनाई छ ।
साथै, उनले आममाफीको निर्णयमा हस्ताक्षर गरेको भन्दै राष्ट्रपति पौडेलको पनि कडा शब्दमा आलोचना गरे । उनले विगतमा कटुवाल काण्ड र नागरिकता विधेयकमा तत्कालीन राष्ट्रपतिहरुले निर्णय पुनर्विचारका लागि फर्काएको स्मरण गराउँदै रिगलको आममाफीको निर्णय अर्को अपराध भएको दाबी गरे । खुँडाले हानेर मान्छे हत्या गर्नेलाई आममाफी दिने राष्ट्रपति देशले नचाएको पनि उनले बताए ।
‘रामचन्द्र वनवास जाने मान्छे, शीतल निवासमा उहाँलाई यही दिन देख्नका लागि हामीले राष्ट्रपति बनाएको हो ?’ प्रश्न गर्दै उनले भने, ‘सरकारले सिफारिस गर्छ, तर राष्ट्रपतिले फिर्ता गर्नपर्ने कुराहरु कटुवाल काण्डमा पनि फिर्ता भएको थियो । नागरिकता विधेयकमा पनि फिर्ता भएको थियो । हेर्दै नहेरी खुँडा हानेर हत्या गर्नेलाई छोड्ने राष्ट्रपति यो देशले चाहेको छैन ।’
रामचन्द्र पौडेल नेपाली कांग्रेसको मात्रै राष्ट्रपति हो भने राजनीनामा दिन उनले आग्रह गरे । उनले रामचन्द्र पौडेलले २४ घण्टाभित्र भारती मानन्धर अनशन बसेको ठाउँमा आएर माफी माग्नसमेत आग्रह गरे । आममाफीमा पीडित पक्षलाई सोध्न र पीडितको सहमतिमा मात्रै आममाफी दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । यो संविधानले नेपाली जनताले सुविधा नभएर पार्टीका झोले, दलाल र माफियाहरुले सुविधा पाएको उनको भनाई छ ।
बृहत नागरिक अभियानका अभियन्ता शिशिर उप्रेतीले भारती मानन्धरको मुद्दाले गम्भीर प्रश्न उठाएको बताए । यो मुद्दामा आफूहरु भारती मानन्धरको पक्षमा रहेको उनले बताए । व्यक्ति हत्यारालाई आममाफी दिएर राज्यले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको उनले बताए ।
रिगलको आममाफी प्रतिनिधि घटना भएको बताउँदै उनले अहिले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्न काम भइरहेको बताए । प्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिने र ज्यान मार्नेलाई आममाफी दिने कामबाट लोकतन्त्रको उपहास भएको उनले बताए ।
अर्का अभियन्ता सुमन सायमीले जघन्य अपराधमा संलग्नलाई आममाफी दिनुपनि अपराधनै भएको बताए । भारती मानन्धरको सिन्दुर पुछेर तामझामका साथ अविर जात्रा गर्नका लागि आममाफी दिन नसकिने उनको भनाई छ । आममाफी दिने प्रचलनले जनतामाथि थ्रेट भएको उनले बताए ।
रिगललाई आममाफीको नाममा छोडियो भने न्यायालय र प्रशासनको औचित्य सकिने उनको भनाई छ । रिगलले तामझामका साथ गुण्डागर्दीको आडमा निस्किन सकिन्छ भनेर देखाएको उनको भनाई छ । आममाफी गलत रहेको बताउँदै उनले अदालले यसलाई करेक्सन गर्न आवश्यक रहेको बताए ।
‘उहाँ (रिगल) ले त अहिले नै तामझामका साथ गुण्डागर्दी गरेर हामी यसरी निस्किन सक्छौं भनेर देखाउनुभयो । त्यो गलत भयो, यस्तालाई पुनः जेल चलान गरिनुपर्छ भन्ने हाम्रो माग हो,’– उनले भने ।
रिगलको आममाफी प्रकरणमा अदालतले भारतीलाई न्याय दिन नसके न्यायका लागि सबै पब्लिकहरु सडकमा निस्किनुपर्ने उनको भनाई छ । राजनीतिक आवरणमा नेताहरुले गुण्डाहरु जन्माइरहेको भन्दै उनले त्यसखाले प्रवृत्तिलाई अन्त्य गरिनुपर्ने बताए । भारतीको न्यायका लागि आफूहरु निरन्तर लडिरहने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
अर्का वक्ता वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सरकारले छ हजार सात सय ५२ जना अपराधीलाई दिएको माफीका विरुद्ध भारतीले प्रश्न उठाएको भन्दै प्रशंसा गरे । उनले भारतीको प्रश्न अपराधीहरुको विरुद्ध रहेको बताए ।
‘सरकारले छ हजार सात सय ५२ ज्यान मुद्दाका अपराधीहरुलाई जेलबाट मुक्ति दिएको छ । अहिले भारती मानन्धरले उठाउनु भएको प्रश्न ती छ हजारको प्रश्न हो । अपराधीहरु विरुद्धको प्रश्न हो,’– उनले भने ।
ज्यानसम्बन्धी कसुर प्रमाणित भएर जेल सजाय काटिरहेकालाई आममाफी दिँदा विधिको शासनको उपहास हुने उनको भनाई छ । रिगलको आममाफीेले देशमा मानवअधिकार र विधिको शासन छैन भन्ने कुरालाई स्थापित गराउन खोजेको उनको धारणा छ ।
‘यो राज्य प्रणालीलाई म एउटा कानुन व्यवसायी चुनौतिका साथ भन्नसक्छु, जसले हत्यारालाई संरक्षण गर्छ, त्यो देशमा विधिको शासन छ ? त्यो देशमा मानवअधिकार छ ?’ उनले प्रश्न गरे ।
साथै, उनले चारदिने नेपाल भ्रमणमा आएका संयु्क्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसमाथि पनि प्रश्न उठाए । जघन्य अपराधमा संलग्नलाई आममाफी दिने सरकारको निमन्त्रणमा नेपाल भ्रमणमा आएर ‘संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस के गर्दैहुनुहुन्छ ?’ भन्दै उनले प्रश्न गरे ।
अहिलेको राज्य प्रणाली अपराधीको राजनीतिककरण र राजनीतिको अपराधीकरण गर्नमा व्यस्त रहेको उनको टिप्पणी छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेरलाई माओवादीले अपराधीको संरक्षण गरेको कारण शान्ति प्रक्रिया निश्कर्षमा नपुगेको बताएको सन्दर्भ उल्लेख गर्दै उनले ‘भारती मानन्धरलाई अगाडि देख्दा तपाई शान्ति प्रक्रिया के देख्नुहुन्छ ? कस्तो लाग्छ शान्ति प्रक्रिया ?’ भन्दै प्रश्न गरे ।
कार्यक्रममा सामाजिक अभियन्ताहरु मुकुन्द सिलवाल, तारा बराल, दीपक थापालगायतले आममाफी गलत भएको र भारतीले न्याय पाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array