रिगलको आममाफी बदर भएपछि भारतीले भनिन्,‘फैसलापछि म यत्ति खुसी भएँ की आफ्ना कुरा भन्न नसकेर धरधरी रोएँ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
6 Min Read
Aa

काठमाडौं, । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन् । हिजोमात्रै सर्वोच्चको पूर्ण इजलाशले ढकालको आममाफी बदर गरिदिएको हो । साथै, ढकाल हिजो साँझ नै नेपालगञ्जबाट पक्राउ परिसकेका छन् ।
रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिईन् । फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धरधरी रोएको सुनाईन् । सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताईन् ।
‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भएँ । त्यो फैसलापछि म यत्ति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धरधरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसकेपनि न्यायालय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ,’– उनले भनिन् ।
सरकार र राष्ट्रपति रामचन्द्र पौडेल स्वार्थमा बिकेर हत्याराहरुलाई आममाफी दिएको उनले बताईन् । सरकारजस्तै न्यायालय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको उनले बताईन् । फैसला सुन्ने क्रमको आफ्नो मनोभावना सुनाउँदै उनले भनिन्,‘उहाँहरु (न्यायाधीश) पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला र ? दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जीत हुन्छ कि हत्याराहरुको जीत हुन्छ भन्ने सोचमा म थिएँ ।’ उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् ।
नेपाल प्रहरीका पूर्वआईजिपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सर्वोच्चको फैसलाले कानुन ज्यूँदैछ भन्ने प्रमाणित गरेको स्पष्ट पारेका छन् । ‘जसको पहुँच छ, त्यसले न्याय पाउँछ’ भन्ने परिस्थिति निर्माण भइरहेको अवस्थामा भारतीले दिएको रिटमा सर्वोच्च अदालत पीडितको पक्षमा उभिएको भन्दै उनले सर्वोच्चको हिजोको फैसलाको प्रशंसा गरे । उनले भारती आन्दोलित भएर समाजलाई बाटो देखाउने काम गरेको बताए ।

राज्यको अभिभावकको रूपमा रहनुपर्ने सरकार र संवैधानिक निकाय (राष्ट्रपति) संविधानको मर्मबाट चुकेको उनको टिप्पणी छ । नरसंहार र अमानवीय रुपले क्रुर हत्या भएका विषयहरुमा कुनैपनि आममाफी हुनेछैन भन्ने संवैधानिक प्रावधानलाई सरकार र राष्ट्रपतिले उल्लङ्घन गरेको उनको दाबी छ ।
‘संवैधानिक रूपमा स्पष्ट छ, नरसंहार भएका विषय, अमानवीय रुपले क्रुर हत्या भएका विषयहरुमा कुनै पनि आममाफी हुनेछैन भन्ने संवैधानिक प्रावधान पनि छ । त्यसको मर्म पनि त्यही हो ।’ उनले भने, ‘त्यसको पनि विरोधमा गएर उहाँहरुले गर्दा, राज्यको अभिभावकको रुपमा रहन पर्ने सरकार, संवैधानिक निकाय समेत त्यसमा चुकेको कुरा गयो । भारतीले शाहसको साथ सबैलाई ठूलो गुण लगाउनुभएको छ ।’
उनले भारतीको साहसको पनि प्रशंसा गरे । नेपालमा लोकतान्त्रिक अभ्यासको सिलसिलामा सर्वोच्चले दिएको निर्णय स्वागतयोग्य र गौरव गर्नलायक रहेको उनको भनाई छ । सर्वोच्चको उक्त फैसला नेपालकालागि मात्रै नभएर द्वन्द्वको स्थिति सामना गरिरहेका अन्य देशहरुकालाई नजीर हुने उनले बताए ।
‘लोकतान्त्रिक अभ्यास गर्दै गर्दा कानुनको पालना गराउने र संविधानमा पनि स्पष्ट नभएको कुराहरु सर्वोच्चले परिभाषित गर्नुपर्ने हुँदा जुन निर्णय आएको छ, सरकारी पक्षबाट भएको गलत अभ्यासहरुलाई पनि सच्याउने काम भएको छ । त्यसका लागि हार्दिक आभार र धन्यवाद हामी सबैले दिनपर्छ,’– उनले भने । आम नेपालीहरुले न्यायको अनुभूति गर्न पाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा अभियन्ता सुमन सायमीले भारतीको साहसको प्रशंसा गरे । उनले सर्वोच्चको आममाफी बदरको फैसला भारतीको मात्रै जीत नभएर सबै नेपालीको जीत भएको बताए । आममाफीको नाममा भएको कैद माफी गैर कानुनी हो भनेर सर्वोच्चले रिट जारी गरेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि दोषी हुन् भन्ने कुरा पुष्टि भएको उनले बताए ।
‘आममाफीको नाममा उहाँलाई कैद माफी गरेर छुटाइएको थियो । त्यो गैरकानुनी हो भनेर सम्मानीत सर्वोच्च अदालतले रिट जारी गरेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि दोषी हो भन्ने पुष्टि भएको छ । त्यसकारणले उहाँहरुले नैतिकताको आधारमा अहिले नै पद त्याग्नुपर्छ भन्ने हाम्रो चाहना हो,’– उनले भने । सर्वोच्चको फैसलाले आफू एकदमै खुसी भएको उनले सुनाए ।
आममाफी बदर अभियानको संयोजन गर्दै आएका आशिष मल्ल ठकुरीले सरकार र राष्ट्रपति कानुनभन्दा पनि माथि देखिएकाले आफूहरुले यो अभियान सुरु गरेको बताए । भारतीजस्ता पीडितलाई सरकारले सडकमा आउन बाध्य पारेपनि न्यायालयले न्यायको प्रत्याभूति दिलाएको उनको भनाई छ ।
न्यायलयको फैसलासँगै अब पीडितको सहमतिबिना आममाफी दिन नसकिने नजीर स्थापित भएको भन्दै उनले फैसलाको खुलेर प्रसंशा गरे ।
कार्यक्रममा अर्का वक्ता दीपक थापाले फैसलाले न्याय नमरेको प्रमाणित गरेको बताए । उनले सञ्चारकर्मीहरुलाई ‘रियल हिरो’ भन्दै प्रसंशा गरे । देशमा नागरिकले आफू सुरक्षित अनुभूत गर्न सक्नुपर्ने उनले बताए । नेपालमा आगामी दिनमा कोही पनि भारतीले जसरी पीीडत हुन नपरोस् भन्दै उनले कामना पनि गरे ।
सामाजिक अभियन्ता जस्मिन ओझाले फैसलाले कानुनको सर्वोच्चता कायम भएको बताईन् । राष्ट्रपतिविरुद्धको रिटमा भारतीले न्याय नपाउने त होईन भन्ने आफूहरुलाई लागेपनि अदालतले उक्त आशंकालाई गलत प्रमाणित गरिदिएको उनले बाईन् ।
कार्यक्रममा सुरेस जिसी, अभियन्ता रविन्द्र कुमार श्रेष्ठ, वसन्ती नेपालीले भारतीको साहस र सर्वोच्चको फैसलाको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

Array