लक्ष्मीपूजा, म्हपूजा र भाईटिका लक्षित गरेर पोखरामा स्वन्ति नखः महोत्सव सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

पोखरा । नेवा मिसा पुचः कास्कीको आयोजनामा पोखरामा चौथौ स्वन्ति नखः महोत्सव आयोजना भएको छ । महोत्सवलाई पोखरा महानगरपालिका वडा नं.९ ले प्रायोजन गरेको छ । महोत्सवको सहआयोजक महेन्द्रपुल नेवा मिसा पुचः, नयाँबजार नेवा मिसा पुचः, न्यूरोड नेवा मिसा पुचः, पृथ्वीचोक नेवा मिसा पुचः र चिप्लेढुङ्गा नेवा मिसा पुच रहेका छन् ।

तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्वहरु लक्ष्मीपुजा, म्हपुजा र (किजापुजा) अर्थात भाईटिकालाई नेपाल भाषामा स्वन्ति नखः भनिन्छ । नेपाल भाषामा प्रयोग हुने ‘स्व’ को नेपाली अर्थ ‘तीन’ हुन्छ । नेवारहरुले लक्ष्मीपूजा, म्हपूजा र भाईटिका विशेष रुपमा मनाउने भएकाले यसलाई नेवारीमा स्वन्ति नखः भन्ने गरिएको हो ।

महोत्सवमा तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक कर्मा गुरुङले नेवा मिसा पुचः कास्की र तमु धि नेपाल कास्की विगतदेखि नै भगिनी सम्बन्ध रहेको र एक अर्काको चाडपर्व र सभा समारोहमा सहभागीता जनाउँदै आएको बताईन । यस्ता मेलामहोत्सवमा एक जातीय समुदायले अर्को जातीय समुदायको सम्मान गर्नाले नै राष्ट्रियता बलियो हुने उनले बताईन ।

महोत्सवमा नेवारहरुको प्रमुख पर्वमध्ये म्हपूजाको डेमो समेत देखाईएको थियो । जसमा विभिन्न मिसा पुचःका महिलाहरुले पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, तमु धिं नेपालकी संस्थापक अध्यक्ष तथा संरक्षक कर्मा गुरुङलाई भाईटिका र म्हपूजा गरिएको थियो ।

पोखरा ९ महेन्द्रपुलमा भएको स्वन्ति नखः महोत्सवमा तिहारमा तिन दिनका लागि चाहिने विभिन्न सामाग्रीहरु स्टलका रुपमा राखिएको छ । ती समाग्रीहरु कास्कीकै विभिन्न नेवारी समुदायका मानिसहरु र विशेषगरि महिलाहरुले उत्पादन गरिएका सामग्रीहरु राखिएको छ ।

महिला उद्यमशिलताको साथमा नेवा संस्कृति जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताएका छन । उनले नेवा खलः कास्कीले विगतका वर्षहरुदेखि नै संस्कृति जगेर्नाका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आईरहेको जानकारी दिए । कार्यक्रममा नेवा मिसा पुच कास्कीका अध्यक्ष सगिंता बज्र्राृचार्यले नेवारी समुदायमा हुने कार्यहरु आगामी दिनमा पनि प्रर्बधन गर्दै जाने उल्लेख गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

Array