‘संस्था र सदस्य बीचको सम्बन्ध बलियो नहुँदा सहकारीमा समस्या’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ कार्तिक २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं,  राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताए ।

विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको बताए । नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उनले बताए ।

वित्तीय संस्था सुरुदेखिनै जोखिम रहने हुँदा त्यसलाई जोखिमरहित बनाउन व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने उनले औल्याए । जोखिमका विभिन्न प्रकार रहनेहुँदा त्यसका लागि पूर्व सर्त निर्धारण गर्नु पर्नेमा उनले जोड दिए । सहकारीको जोखिम व्यवस्थापन सम्बन्धमा ऐन, नियममा समेत धेरै कुरा उल्लेख भएपनि कार्यान्वयन नहुँदा समस्या आएको उनको भनाई छ ।

‘ऐन, नियमावलीले आन्तरिक कार्यविधिको व्यवस्था, कारोबारको लेखा राख्ने, वित्तीय विवरण प्रकाशन, कर्जा सूचना केन्द्र जस्ता थुपै कुरा बोलेको छ’, उनले भने, ‘तर कार्यान्वय गर्ननसक्दा सहकारीहरुमा जोखिम बढेर गएको हो ।’ सहकारी संस्थाहरुले जोखिमको व्यवस्थापन वर्गिकरण गर्दै संस्थालाई जोखिमरहित बनाउनु अहिलेको आवश्यकता भएको सीईओ गुरागाईंले बताए । उनले कोरिया र क्यानडाको उदाहरण दिँदै सहकारीको जोखिम व्यवस्थापनको मोडल उत्तम रहेको बताए । कोरियामा तीन तहको संरचना रहेको र त्यहाँको संस्थाको अनुगमन संस्थागत पुँजी र क्यामेल रेटिङ प्रणालीलाई आधार मानेर गर्ने गरेको बताए ।

कुनै पनि संस्था वित्तीय रुपमा टाट पल्टिए पनि बचत सुरक्षणमार्फत सदस्यको बचत फिर्ताको सुनिश्चितता गरेको उनले जानकारी दिए । संस्थाहरुले विजनेश प्लान नबनाउने र सेयर पुँजीको १० प्रतिशत भन्दा बढी एकै व्यक्तिलाई लगानी गर्दा समस्या आउने हुँदा वित्तीय सञ्चालनको कानुनी परिपालना गर्दै संस्था सञ्चालन गर्न उनको आग्रह छ ।

जोखिमको पहिचान, मूल्यांकन र व्यवस्थापनलाई अध्ययन गरी संस्थामा लागू गर्न सके जोखिम न्युनिकरण गर्दै जान सकिने उनको भनाई छ । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको अध्यक्षता, टिप्पणी डा. नरहरी ढकालले गरेका थिए ।

कार्यपत्रमाथी टिप्पणी गर्दै ढकालले सहकारीमा देखिएको समस्या आन्तरिक रहेको बताए । सहकारी संस्थामा सञ्चालक, कर्मचारीहरुको विशेष सक्रियाता रहनुपर्ने बताए । सहकारीहरु शहर केन्द्रीत र नाफामुखी हुँदा अहिले समस्या निम्तिएको धारणा राखे । सहकारी संस्थालाई सफल र दिगो बनाउनको निम्ति संस्था भित्रका आन्तरिक नीति तथा कार्यविधिलाई कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए । संस्था र सदस्य बीचको सम्बन्ध बलियो नहुँदा पनि हाल सहकारीमा समस्या देखिएको बताए ।

कार्यक्रममा सहभागीहरुले वित्तीय संकटका कारण सहकारीले गरेको लगानी संकटमा परेकाले असुलीका विधि समेत दिन सकेको भए कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array