अनलाइनबाट सपथ दिलाउने काम नगर्न, नगराउन एनआरएनएको आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – गैर आवासीय नेपाली संघका अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी पक्षले संघका नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि  यसबारे अवगत रहेको बताएका छन्। उक्त तथ्यलाई नदेखेझैं गरी सपथ गराउन लागिएको भन्ने विवरणहरु प्रति आफ्नो ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।

“गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७.५.७ मा “हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आइसीसी सदस्यहरुको सपथ ग्रहण नेपालमा अन्तरराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु संगै हुनेछ” भन्ने उल्लेख छ। त्यस्तै  सोही विधानको दफा २१.७ मा “अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तरराष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरु परिवर्तन वा परिमार्जन गर्न पाइने छैन” भन्ने उल्लेख छ।  यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वत: स्पष्ट छ। त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array