नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ कार्तिक २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौँ। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ’

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

Array