दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

 काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको अरोप लगाएका हुन् ।‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, उनले भने । नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको ओलीले बताए ।

‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने ।देशमा नियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए ।‘प्रधानमन्त्रीजीले बोलाएको १२ बुँदे सहमतिसँग सम्बन्धित भनिएका दलको बैठकमा बेथती आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नुभयो, देशको अप्ठेरो अवस्थाबारे स्वीकार्नुभयो । तर के गर्ने भन्ने कुरामा केही भएन’, उनले भने ।अहिलेको अनियमितता र बेथितिको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए । ‘यसकारण यहाँ समाधान नखोजी यसको जिम्मा कसलाई लगाउने ? हामीले ७ गते एउटा संकेत गर्न खोजेको हो’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

Array