आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ ।

केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ । यो पर्व षष्ठी (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ हुन्छ भने सप्तमी (सोमबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।

विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका वीरगन्जका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली नेपालीबिचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ ।

राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । त्यसै गरी पशुपतिस्थित गुह्येश्वरीमा समेत विगत वर्ष झैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । त्यसै गरी राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपा र विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासी छठ पर्व मनाउन प्रायः आआफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा मनाउँदै आएका छन् । विराटनगर घर भई अहिले राजधानीको बालाजुमा बस्दै आउनुभएका प्रभन्स ठाकुरले चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र बाहिर मनाउँदा झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुभयो । त्यस्तै भारतको बिहार (सीतामढी) घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका शङ्कर तिवारीले आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने उल्लेख गर्नुभयो । एक ठाउँको चाडपर्व अर्को ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

Array