समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘आन्तरिक संरचनामा के उपलब्धी भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘प्रधानमन्त्रीको निर्देशन अनुसार मैले वर्तमान देशको अर्थतन्त्रका बारे बैठकमा ब्रिफिङ गरेँ ।’ त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए ।

‘समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ, विप्रेषण, पर्यटक आगमन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौँ’, मन्त्री डा. महतले भन्नुभयो, ‘कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैङ्कबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धी हासिल गरिरहेका छौँ ।’ रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । विशेषतः सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो । लिएको ऋण तिर्नुपर्छ, तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो ।

बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषयमा छलफल भयो । जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Array