खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा आठ हजार ९३३ मेट्रिक टन धान खरिद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो । कम्पनीले बर्दियाको राजापुरबाट आठ हजार चार सय क्विन्टल, धनगढीबाट ४८० र महेन्द्रनगर कार्यालयबाट ५३ मेट्रिक टन धान खरिद गरेको हो । अन्य जिल्लामा भने धान खरिद गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।कम्पनीले दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको थियो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको बताइएको छ ।धान खरिद गर्न एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ । सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ तोकेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानलाई राहत पु¥याउन धान खरिद गर्न लागिएको कम्पनीले जनाएको छ ।

निजी व्यवसायीले सस्तो मूल्यमा धान खरिद गर्दा किसान मारमा पर्ने भएकाले कम्पनीले प्रत्येक वर्ष धान खरिद गर्ने जनाएको छ । विभिन्न जिल्लामा किसानले धान थन्क्याउने काम गरिरहेका छन् । व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्दा किसान मारमा पर्ने गरेका छन् । किसानले धान थन्क्याउनेबित्तिकै व्यवसायीले सस्तो मूल्यमा धान खरिद गर्ने हुँदा किसान मारमा पर्छन् । कम्पनीले चालु आवमा ११ जिल्लाबाट ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागेको जनाएको छ । कम्पनीले विभिन्न जिल्लामा किसानबाट धान खरिद गर्न लागेको हो । कम्पनीले बिर्तामोडबाट तीन हजार पाँच सय क्विन्टल, विराटनगरबाट चार हजार क्विन्टल, लहानबाट तीन हजार पाँच सय क्विन्टल धान खरिद गर्ने भएको छ ।

यस्तै जनकपुरमा पाँच/पाँच सय, भैरहवामा दुई हजार, नेपालगन्जमा सात हजार मेट्रिक टन, राजापुरमा नौ हजार पाँच सय, धनगढीमा आठ हजार र महेन्द्रनगरमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने कम्पनीले जनाएको छ । यस्तै जुम्लाबाट दुई सय मेट्रिक टन मार्सी धान खरिद गर्ने कम्पनीले जनाएको छ । कम्पनीले किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ । कम्पनीले सुपथ मूल्यमा सुगमसँगै दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्ने गरेको छ ।  गत वर्ष ९९ करोड १८ लाख रुपियाँ विनियोजन गरी ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेकामा १३ हजार मेट्रिक टन मात्र खरिद गरेको थियो । गत कम्पनीले समयमा धान खरिद गर्न नसक्दा लक्ष्य अनुसार खरिद गर्न सकेको थिएन । तराईका जिल्लामा धान थन्क्याउन बाँकी रहे पनि पहाडी जिल्लामा भने धान थन्क्याउन सकिएको छ ।   Gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array